गायिका पूजा सुनुवारको गायन यात्रा १६ वर्षको किशोरवयमा

गायिका पूजा सुनुवारको गायन यात्रा १६ वर्षको किशोरवयमा छ । यसबीचमा सुगम संगीतका दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्, उनले । उदयपुरको सामान्य परिवारमा जन्मेकी उनले ०६० देखि ०६६ सम्म साधना कलाकेन्द्रमा प्रकाश गुरुङ र शारदा क्षत्रीबाट संगीतको औपचारिक शिक्षा लिइन् । गुरुकुलमा गुरुदेव कामतसँग पनि संगीत सिकिन् । हालसम्म सुनुवार, नेवारी, थारू, तामाङ, कुमाउनीलगायत भाषाका र केही डेउडा गीतमा पनि स्वर दिइसकेकी छन् । दर्जनभन्दा बढी कलेक्सन एल्बमका गीतमा स्वर दिएपछि वैशाख ०७३ मा ‘नजर’ र वैशाख ०७६ मा ‘रहर’ गरी दुई सोलो एल्बम ल्याइन् ।

०७४ सालमा ‘ट्युसन पढाउँछु’ बोलको गीत शंकर थापा स्माइलको संगीतमा गाइन् । त्यसको म्युजिक भिडियोमा एलिसा राई र पल शाहलाई फिचरिङ गरिएको छ । त्यस गीतले उनलाई लोकप्रिय बनाइदियो । सोलो एल्बम ‘नजर’मा समेटिएको ‘नसम्झी बसूँ म तिमीलाई कसरी’ बोलको गीतले उनको सांगीतिक यात्रालाई उचाइ दियो, जसमा वर्षा राउतको अभिनय छ । ‘काठमाडौं सहर’ बोलको गीतबाट पनि प्रशस्त अडियन्स कमाइन् । उनका ‘काठमाडौं सहर’, ‘ट्युसन पढाउँछु’, ‘साकिराभन्दा के कम छु र’ बोलका गीत डान्सिङ नम्बरका हुन् । हरेक स्टेज परफर्मेन्समा उनी यी गीत छुटाउँदिननन् । र, दर्शकको ‘वान्स मोर’ पाउँछिन् । स्टेज परफर्मेन्सकै सिलसिलामा उनी थाइल्यान्ड, सिंगापुर, दुबई, कतार, कुबेत, चीन, भारतलगायत मुलुक/सहर पुगिसकेकी छन् ।

०७३ को ओएस नेपाल म्युजिक अवार्डमा ‘बेस्ट मोर्डन सिंगर फिमेल न्यू, ०७५ को बक्स अफिस इन्टरनेसनल म्युजिक अवार्डमा सर्वोकृष्ट आधुनिक गायिका र सर्वोकृष्ट नेपाल भाषाकी गायिका, सोही वर्ष पावर न्युज म्युजिक अवार्डमा क्रिटिक्सतर्फ सर्वोकृष्ट गायिका, ०७६ को ओएस नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट सुरुवार गायिका, ०७४ मा देशभक्त गणतान्त्रिक सम्मानलगायत पुरस्कार र सम्मान उनले पाइसकेकी छन् ।संगीतकार तथा गायक शंकर थापा स्माइल, संगीतकार दीपक शर्मा, सुनील मास्केलगायतसँग उनले काम गरेकी छन् । हालसम्मका सबै गीत आफ्नै लगानी र निर्माणमा ल्याएकी छन् । शब्द र संगीत आफैँ छान्छिन् । र, त्यसको सर्जकलाई आफैँ पारिश्रमिक दिन्छिन् । पछिल्लो समय वर्षा राउत र प्रकाश सपुतले अभिनय गरेको ‘हुन्छ भन न’ बोलको म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया पाइरहेकी छन् । तर, भ्युज बढाउन बुस्ट गर्दै अडियन्स खरिद गर्ने पक्षमा छैनन् । भन्छिन्, ‘मलाई खरिद गरिएका अडियन्समा विश्वास लाग्दैन ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.