सागको भव्य उद्घाटनको तयारी

दक्षिण एसियाली खेलकुदको कुम्भ मेला साग औपचारिक रूपमा आइतबारबाट सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । साँझ ५ बजे सुरु हुने उद्घाटन समारोह तीन घन्टा ४० मिनेटसम्म चल्ने १३औँ सागका लागि गठित समारोह समितिले जनाएको छ । स्वास्थ्यमा सुधार आए उद्घाटन समारोहमा प्रधानमन्त्री केपी ओलीले पनि सम्बोधन गर्नेछन् । ‘प्रधानमन्त्रीज्यूले उद्घाटन समारोहमा सम्बोधन गर्नुहुने तालिका यसअघि नै निश्चित भएको हो । तर, अहिले अस्वस्थ हुनुहुन्छ । स्वास्थ्यले साथ दिए प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ,’ समारोह समितिका सचिव कुलबहादुर थापाले नयाँ पत्रिकासँग भने ।
उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष साजसज्जा हुँदै छ । दक्षिण एसियाका सात राष्ट्र नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कला–संस्कृति झल्कने झाँकी प्रस्तुत हुनेछन् । यसका लागि विभागीय टोली सशस्त्र प्रहरीका हजारभन्दा बढी कलाकारले तयारी गरिरहेका छन् । कलाकारहरूले सहभागी देशका खेलाडी र पदाधिकारीको स्वागतमा सम्बन्धित देशकै गीतमा नृत्य पनि गर्नेछन् ।

प्रत्येक देशका खेलाडी तथा पदाधिकारीले आफ्नो झन्डासहित मार्चपास्ट गर्नेछन् । मार्चपास्टमा नेपालको झन्डा बोक्ने खेलाडीको नाम भने तय हुन बाँकी छ । नेपाली टोलीका सेफ द मिसन पीताम्बर तिम्सिना नेतृत्वको समितिले मार्चपास्टमा झन्डा बोक्ने खेलाडी तय गर्नेछ । भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालगायत खेलाडीमध्येबाट एकजना छनोट हुनेछन् । उद्घाटन समारोहलाई आकर्षित बनाउन अतीसबाजी पनि गरिनेछ । समारोह समितिले शुक्रबार उद्घाटन समारोहको ‘ग्रान्ड रिहर्सल’ गरेको छ । सागका २८ मध्ये आठ खेल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । अन्य खेल काठमाडौं र ललितपुरमा हुनेछन् । उद्घाटन काठमाडौंमा मात्रै हुने भए पनि पोखरामा सांस्कृतिक कार्यक्रम भने आयोजना गरिनेछ ।

२४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी ६ हजार पाँच सयले सहभागिता जनाउनेछन् । त्यसमध्ये तीन हजार खेलाडी, एक हजार अफिसियल, दुई हजार दुई सय ७० रेफ्री, जज र जुरी रहनेछन् । त्यसबाहेक विशिष्ट पाहुना पनि सहभागी हुने नेपाली टोलीका डेपुटी सेफ द मिसन रिम रानाभाटले जानकारी दिए । २८ खेलमा तीन सय १६ स्वर्णसहित एक हजार एक सय ११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट ६ सय ९४ खेलाडी दर्ता गरिएको छ । सागको सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कमान्डमा साढे १९ हजार सुरक्षाकर्मी खटाइएको छ । पोखरा र जनकपुरमा प्रदेश प्रहरी प्रमुख डिआइजीहरूको कमान्डमा सुरक्षा व्यवस्था गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र अनुसन्धानका कर्मचारी सुरक्षा टिममा रहन्छन् । स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र पाहुनाका लागि काठमाडौंमा मात्रै ५० भन्दा बढी होटेल बुकिङ गरिएको छ । यसमा पाँचतारे होटेलहरू -याडिसन र सोल्टीदेखि दुईतारे होटेलसम्म बुकिङ गरिएको आवास व्यवस्थापन समितिका सचिव विनोद उप्रेतीले बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.