फिल्म चल्न छाडेपछि हल बन्द हुँदै

वर्षेनी सयभन्दा बढी नेपाली फिल्म प्रदर्शनमा आउँछन् । तर, मुश्किलले चार पाँचवटा फिल्मले मात्र लगानी उठाउँछन् । बाँकी फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पनि पैसा उठाउँदैनन् । केही वर्षयता नेपालमा ब्रान्ड बनिसकेका फिल्मका सिरिज र टिमका फिल्मलाई मात्र दर्शकले पत्याएका छन् । यस वर्ष नाफा कमाएको फिल्मको सूची हेर्ने हो भने पनि यो स्पष्ट हुन्छ ।

यस वर्षको बैशाख अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ ले आलोचनाका बावजूद पनि नाफाको व्यापार गर्‍यो । मह जोडीप्रति दर्शकको विश्वास भएका कारण यो फिल्मले बक्सअफिसमा असफल हुनु नपरेको कतिपयको निष्कर्ष छ । यसपछि जेठको पहिलो हप्ता प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले पनि लोभलाग्दो कमाई गर्‍यो । यसपछि तीन महिना असार साउन र भदौ कुनै फिल्म चलेनन् । असोजको पहिलो हप्ता प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेलले बक्सअफिसमा धूम मच्चायो । प्रदर्शनको ५१औं दिनसम्ममा १३ करोडभन्दा बढी कमाउँदै ‘कबड्डी ३’ यस वर्षको ब्लकबस्टर फिल्म साबित भयो । यसको करीब २० दिनपछि फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको थियो ।

यसअघि पाँचवटा ब्लकबस्टर फिल्म दिएको दीपकराज गिरीको समुह यो पटक पनि सफलताको स्वाद चाख्नबाट बञ्चित भएन । यो फिल्मले प्रदर्शनको ५१औं दिनसम्ममा १४ करोडको आसपास व्यापार गर्दै वर्षकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाएको छ । तर, असोजले बिदा मागेसँगै नेपाली फिल्मको व्यापार पूरै सुस्ताएको छ । कुनै फिल्मले हलमा दर्शक तान्न सकेका छैनन् । यस वर्ष निकै आश गरिएका फिल्ममध्ये ‘वीर विक्रम २’, ‘रातो टीका निधारमा’, ‘हजार जुनीसम्म’, ‘मारुनी’, ‘जाइरा’, ‘पोइ पर्‍यो काले’, ‘घामड शेरे’, ‘चच हुई’, ‘माछा माछा’ ले बक्सअफिस तताउने ठूलो अपेक्षा थियो । तर, कुनैले न राम्रो व्यापार गर्न सके न त दर्शकलाई सन्तुष्ट बनाउन नै अहिले हल दर्शक नभएर चकमन्न छ । प्रायः सिंगल थिएटर हल बन्द हुने अवस्थामा छन् ।

हल सञ्चालक तथा वितरक फिल्म चल्न छाड्नुको कारण चिसो मौसमलाई मान्दैनन् । बुधबारबाट जडिबुटीमा रहेको पुष्पाञ्जली हल बन्द हुदै छ । हजार सिट क्षमताको हलमा फिल्म हेर्न ३ जना पनि दर्शक नहुने बताउँछन् । मनोरञ्जनको ग्यारेन्टी गर्न नसक्ने फिल्मलाई दर्शकले साथ नदिने उनको कथन छ । अहिले फिल्म नचल्नुको कारण पनि उनी यही मान्छन् ।आश गरिएका फिल्म समेत नचल्दा अहिले फिल्म निर्माण र प्रदर्शन गर्न लागेका निर्माताहरु नराम्रोसँग तर्सिएका छन् । गत वर्ष दशैंपछि कुनै नेपाली फिल्म नचल्दा फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.