सकियो खण्डग्रास सूर्यग्रहण,

पौष कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिनेछ ।नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको थियो । १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।सूर्य ग्रहणको कुल अवधि २ घण्टा ४९ मिनेट रहेको थियो ।

खण्डग्रास सूर्यग्रहण हेर्न संग्राहलयमा सर्वसाधरण र खगोल शास्त्रका विद्यार्थीको भिड लागेको थियो ।बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्राहलयका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले सूर्यग्रहण महत्वपूर्ण खगोलिय घटना भएको बताउनुभएको छ।पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको आग्नेय दिशाबाट समाप्त भएको थियो । आजको सूर्यग्रहण २०७६ सालको अन्तिम ग्रहण हो ।

योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देखिएको छ ।ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने धार्मिक विश्वास छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.