के हो तमु ल्होसार? कसरी मनाईन्छ?

तमु ल्होसार गुरुङ समुदायको महान् चाड हो । यो चाड नेपाल, भारतलगायत संसारभर छरिएर रहेका गुरुङ जातिले धुमधामका साथ मनाउने गर्दछन्। ल्होसार भनेको नयाँ वर्ष हो। भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’ वा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो। व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भन्ने गरिन्छ। खासगरी नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन्। तमु, तोल, सोनम र ग्याल्पो गरी चार सम्प्रदायका लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ।‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो। गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो। गुरुङहरूले यस वर्ष फो मृग वर्गलाई बिदाइ गरी च्यु मुसा वर्गको स्वागत गर्दै छन्। हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो। तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ।

प्राचीन तमु प्यो शास्त्रमा तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पति भएको प्रसंग पाइन्छ। ल्होसारदेखि लगभग सूर्यले उत्तरायणतर्फको बाटो समाउने समय भएकाले दिनहरू क्रमशः लामा हुँदै जान्छन्। यसर्थ सूर्यको गति र तापका आधारमा ल्होसार मनाउने गरिन्छ। गुरुङको बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत उच्चपहाडी जिल्लामा सूर्यको ताप आउन सुरु हुने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। सूर्यको दक्षिणतर्फ परमक्रान्तितुल्य झुकाव भएको समयमा पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा छोटो दिन हुन्छ। हाल पुस ६ गते पर्ने छोटो दिनपछि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ। कुनै समयमा माघ १ गते सबैभन्दा छोटो दिन हुन्थ्यो। यसर्थ धार्मिक परम्परामा मकर संक्रान्तिलाई अद्यापि उत्तरायण आरम्भ भएको दिनका रूपमा लिइन्छ। ल्होसारको इतिहास लामो भए पनि तमु ल्होसार मनाइने दिन अर्थात् पुस १५ गते सूर्यको दक्षिण परमक्रान्ति पर्न गई उत्तरायण प्रारम्भ हुने समय लगभग आजभन्दा ६५० वर्षअघि पर्न जाने गणनाले देखाउँछ। यो गणनाले तमु ल्होसारको इतिहास अध्ययन गर्न मद्दत पुर्याउनेछ।

ल्होसार हाल नियत समयभन्दा एक वा दुई–तीन दिनअगाडिदेखि नै मनाउने गरिन्छ। लोसारको अघिल्लो साँझदेखि नै पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। लोसारको दिन बिहानैदेखि आफन्त भेटघाट र शुभकामना आदानप्रदान गरिन्छ। नाता–कुटुम्बलाई बोलाएर भोज खुवाएर नाचगान गरी बडो धुमधामका साथ यो पर्व मनाइन्छ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका वेशभूषामा रमाउँछन्। महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाउँछन् अनि कछाड र पटुकी बाँध्छन् । गुरुङ समुदाय घाटु, सोरठी, कौडा नाच आदिमा रमाउँछन्। रात्रिको समयमा प्रधान पुरुषले सूर्य अस्ताएको दिशातर्फ फर्किएर धनुषकाण हानी पुरानो वर्षलाई बिदाइ गर्दछन् भने पूर्वतर्फ नयाँ वर्षलाई स्वागत गर्दै बिहानीपख ल्हो नराम्रो नहोस् भन्ने कामना गरी जन्तर बाँध्ने गर्दछन्।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.