नेपाली हलमा विदेशी फिल्मको दबदबा

यस वर्षको बैशाखदेखि कात्तिक अन्तिम सातासम्म नेपाली फिल्म प्रदर्शन गर्न निर्माताबीच ठूलै रस्साकस्सी भयो । यो बीचमा ४० भन्दा बढी फिल्म प्रदर्शन भए । तर, ‘दाल भात तरकारी’, जात्रै जात्रा’, ‘कबड्डी ३’ र ‘छ माया छपक्कै’ ले मात्र लगानी सुरक्षित गरे भने दुई तीन फिल्म मुनाफाको नजिक पुगे । बाँकी फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पनि पैसा उठाउन सकेनन् । आश गरिएका फिल्मले समेत बक्सअफिसमा घुँडा टेक्दा अहिले निर्माताहरु फिल्म निर्माण र प्रदर्शन गर्न डराएको अवस्था छ । यसैको प्रभाव हुनसक्छ, केही दिनयता फिल्मको घोषणा पनि भएका छैनन् । फ्लोरमा पनि निकै कम फिल्म छन् । मंसिरपछि आश गरिएका नेपाली फिल्म समेत प्रदर्शन भएका छैनन् । अहिले हलमा नेपाली फिल्म छैनन्, विदेशी फिल्मको दबदबा छ ।

अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ पछि नेपाली हल विदेशी फिल्मले कब्जा गरेको छ । विना प्रचारका केही नेपाली फिल्म प्रदर्शनमा आए पनि तीनले दर्शक तान्न सकेनन् । आशा गरिएका फिल्म हेर्न भने माघ महिनाको दोस्रो सातासम्म पर्खिनु पर्ने देखिन्छ । माघ दोस्रो साता अर्थात् माघ २४ गते विराज भट्टको ‘साङ्लो’ र विपिन कार्कीको ‘सेल्फी किङ’ प्रदर्शनमा आउँदैछ ।जाडो मौसममा दर्शक हलमा नआउने भएका कारण निर्माताहरु फिल्म प्रदर्शन गर्न डराएको कतिपयको अनुमान छ । तर, एकथरी फिल्मकर्मी भने जाडो मौसमले फिल्म हेर्न दर्शकलाई नरोक्ने तर्क राख्छन् । राम्रो फिल्म नआएका कारण हलमा दर्शकको उपस्थिति उदेकलाग्दो भएको उनीहरुको बुझाई छ । नेपाली फिल्म प्रदर्शन नहुँदा सिंगल हल अहिले बन्द हुने अवस्थामा छन् ।

नेपालमा सञ्चालित मल्टीप्लेक्स हललाई भने नेपाली फिल्म प्रदर्शन नहुँदा पनि कुनै समस्या छैन । किनकि, हलिउड र बलिउडका ठूला फिल्म हप्तैपिच्छे प्रदर्शन भैरहेका छन् । मल्टीप्लेक्सहरुले विदेशी फिल्मबाटै राम्रो कमाई गरिरहेका छन् । तर, सिंगल हलमा नेपाली दर्शक विदेशी फिल्म हेर्न जाँदैनन् । त्यसैले घरेलु फिल्म प्रदर्शन नहुँदा सिंगल थिएटरहरु बन्द हुने अवस्थामा पुगेका छन् । ‘दबंग ३’ र ‘गुड न्यूज’ अझै मल्टीप्लेक्समा प्रदर्शनरत छ । शुक्रवारबाट बलिउडका दुई ठूला फिल्म ‘छपाक’ र ‘तानाजी’ प्रदर्शनमा आउँदैछन् । यी दुई फिल्मले मल्टीप्लेक्समा उच्च सोज पाएका छन् । त्यस्तै, शुक्रवार दुई हलिउड फिल्म ‘अन्डरवाटर’ र ‘डूलिटिल’ पनि प्रदर्शनमा आउँदैछ । तर, सिंगल थिएटर भने नेपाली फिल्म प्रदर्शन नहुँदा सुनसान छन् । कति हल त बन्द नै भइसके ।

मंसिर र पुषमा आश गरिएका नेपाली फिल्म प्रदर्शन नभए पनि माघ दोस्रो साताबाट भने एकै मितिमा ठूला फिल्महरु भिड्दैछन् । माघ २४ पछि फागुन ९ गते ‘आमा’ र ‘सेन्टीभाइरस’ बीच भिडन्त हुँदैछ । त्यस्तै, फागुन २३ गते यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘म यस्तो गीत गाउछु २’ प्रदर्शनमा आउँदैछ । यी फिल्महरुले नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको छ

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.