प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम हुने भएको छ । प्रदेशसभामा स्थायी राजधानी तोक्ने सम्बन्धमा आज भएको मतदानमा प्रदेश राजधानी हेटौडाका पक्षमा १०५ सांसदले मतदान गरेका छन् ।यो कुल सांसद संख्याको दुईतिहाई हो । प्रदेशसभामा जम्मा ११० जना सांसद रहेका छन् । हेटौडा राजधानी हुनुहुन्न भन्ने पक्षमा ३ मत परेको थियो ।लामो रिक्ततालाई चिर्दै प्रदेश ३ प्रदेशसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेपछि आज मतदान भएको हो ।

प्रदेशसभाका ५ दलका १ सय १० जना सदस्य स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्न सहमत नभएपछि मतदानको कार्यसूची तय भएको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । प्रदेशसभामा १ सय १० सदस्यमा नेकपाका ८० र काँग्रेसका २२ सांसद् छन् । विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रका १\१ सांसद् छन् । प्रदेशको स्थायी राजधानीका लागि २ वटा नाम प्रदेशसभामा दर्ता भएका थिए ।

स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको थियो । काभ्रेको धुलिखेल राजधानी होस् भन्ने पक्षमा जम्मा तीन मत थियो ।सत्तारूढ नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलले हेटौंडा तथा विवेकशील पार्टी र स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले धुलिखेल प्रस्ताव गरेका थिए ।प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन ७४ मत चाहिन्छ । नेकपा र काँग्रेसले राजधानी हेटौडा नै कायम गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ नै जारी गरेका थिए ।प्रदेश ३ को नाम बाग्मती राख्ने सम्बन्धमा भने सर्वसम्मत निर्णय भएको थियो । हेटौडा राजधानी अपायक भएको भन्दै व्यापक विरोध हुदैं आएको छ ।प्रदेशसभा बैठक अहिले १५ मिनेटको लागि स्थगित गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.