यूएईमा कोरोना संक्रमित दुई नेपालीको अवस्था स्थिर, धेरै श्रमिक रोजगारी गुम्ने चिन्तामा

यूएईमा कोरोना सङ्क्रमित दुई नेपालीको अवस्था स्थिर रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएका दुई नेपालीको उपचार यहाँको सरकारी संयन्त्रले व्यवस्थित रुपमा निःशुल्क गरिरहेकोले अवस्था सामान्य रहेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले जानकारी दिनुभयो ।

दूतावासले कोरोना सङ्क्रमित नेपालीको अवस्थाबारे यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उपनियोग प्रमुख धितालले बताउनुभयो । संक्रमित आफैं परिवारसँग नियमित सम्पर्कमा रहेकाले दुवै नेपालीको पहिचान भने खुलाइएको छैन । यूएईले यहाँ रहेका सबै कुटनीतिक नियोगहरुसँग अनलाइन संवाद गर्ने व्यवस्था गरेको छ । यूएईमा कोरोना संक्रमित सबै देशका नागरिकलाई यूएईले आफ्नै नागरिक सरह उपचार गर्ने, तथा सम्बन्धित देशले चाहेमा सम्बन्धित देश फर्काउने लगायतका विषयमा सम्बन्धित देशका नियोगका प्रतिनिधिसँग छलफल गरिरहेको छ ।

कोरोना देखिएकालाई तत्काल स्वदेश फर्काउने अवस्था छैन । तर पनि सङ्क्रमणको प्रभाव यूएईमा कार्यरत अरु नेपाली श्रमिकमासमेत पर्न थालेको छ । कतिपय कम्पनीले वार्षिक बिदा लिएका श्रमिकको तालिकामा परिवर्तन गरेका छन् भने कतिपयले बेतलबी बिदामा बस्न आग्रह गरेका छन् ।वार्षिक बिदा लिन बाँकी रहेकाहरुलाई तल्काल बिदामा बस्न तथा बिदा सकाएर फर्किएकालाई समेत बेतलबी बिदा लिन भनिएको दुबईको एक होटलमा कार्यरत धादिङका रमेश थापाले बताउनुभयो । कम्पनीले आफ्नो देशको अवस्था हेरेर घर फर्कन अथवा स्थानीय बिदामा बस्न भनेपछि धेरै श्रमिकको रोजगारी गुम्ने कुराले चिन्तामा परेका छन् ।

खासगरी सेवा प्रदायक क्षेत्रमा काम गर्ने श्रमिकहरु समस्यामा परेका हुन् । होटल, ट्राभल एजेन्सी, सेल्स, सवारी चालक र सुरक्षा गार्डमा काम गर्ने नेपाली श्रमिकहरुमा कोरोनाको असर देखिन्छ । यहाँका स्थानीय सपिङ सेन्टर, मल तथा बजार क्षेत्र सुनसान हुन थालेका छन् । तर बजारमा खाद्य सामाग्री भने नियमित पाइएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व महामारीको रुपमा घोषणा गरेपछि यहाँको सरकारलेसमेत उच्च सतर्कता अपनाएको छ । पर्यटकीय स्थल, बार, नाइट क्लब, रेस्टुरेन्ट, मानिसको जमघट हुने प्रमुख क्षेत्र तथा विद्यालय, सिनेमा हल बन्द गरिएको छ । साथै यूएई भ्रमणमा आउनेहरुका लागि मंगलबारदेखि भिसा समेत बन्द हुँदैछ ।यहाँ रहेका नेपाली कामदारको अवस्था, सतर्कता अपनाउन गरिएका पहल लगायतका विषयमा दूतावासले दैनिक रुपमा परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा अध्यागमन विभागलाई ब्रिफिङ गरिरहेको दूतावासले जनाएको छ ।

यस्तै पछिल्लो सरकारी सूचनाभन्दा पहिले नेपाल गएका कामदारहरु बिना श्रम स्वीकृति आउन नपाउने कारण समयसीमामा काम गरेको कम्पनीमा उपस्थित हुन नपाउँदा रोजगारी जाने चिन्तामा छन् । यस विषयमा यहाँको सरकारले भने कुनै निर्णय नगरेको दूतावासले जनाएको छ । श्रमिकले दैनिक रुपमा दूतावासमा सम्पर्क गरेर जानकारी लिने गरेका छन् ।सम्पर्कमा आएका तथा कार्यरत सबै कामदारलाई नआत्तिन, विश्व स्वास्थ्य संगठन र दुवै देशका सरकारको निर्देशन अनुसार सतर्कता अपनाउन दुतावासले आग्रह गरेको छ ।यूएईमा सोमबार बिहानसम्म ९८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सङ्क्रमितमध्ये २३ जना निको भैसकेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.