मणिग्राम औद्योगिक करिडोरका २२ ठूला उद्योग संकटमा, बन्द गर्ने उद्योेगीको चेतावनी

भैरहवा–बुटवल सडकखण्डअन्तर्गत पड्सरी मणिग्राम औद्योगिक करिडोरका २२ ठूला उद्योग संकटमा परेका छन् ।विद्युत् प्राधिकरणले आफूहरुलाई जानकारी नै नदिई महंगो दरको ट्रंक लाइन जडान गरेर करोडौँ रकमको बक्यौता बिल पठाएको भन्दै उद्योगीहरुले आपत्ति जनाएका हुन् ।

भैरहवा– बुटवल सडकखण्डमा मगिग्राम औद्योगिक करिडोरमा ३० अर्ब रुपैयाँको लगानीमा २२ ठूला उद्योग रहेका छन् ।विद्युत् प्राधिकरणले उद्योगलाई ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको भन्दै छुट महसुल बुझाउन फागुन ८ गते ३५ दिने सूचना जारी गरेपछि उद्योगीले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।प्राधिकरणले ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको दाबी गर्दै उद्योगलाई साविककोभन्दा ६६ प्रतिशत बढी महसुल बुझाउने अल्टिमेटम दिएको छ ।

करिडोरअन्तर्गतको यशोदा फुड्स प्रालिका प्रबन्धक मधुसुदन घिमिरे भने आफूहरूले ट्रंक लाइन नमागेको र प्राधिकरणसँग पनि सम्झौता नभएकाले थप रकम बुझाउन नसकिने धारणा राख्छन् ।ट्रंक लाइनको प्रयोग गरेबापत विद्युत् प्राधिकरणले भुक्तानीका लागि ३५ करोड रुपैयाँभन्दा बढी बक्यौताको बिल पठाएको उद्योगीको भनाइ छ ।

विगतमा ३३ केभिए लाइनबाट सञ्चालित हुँदै आएका उद्योगमा प्राधिकरणले आफूखुसी उच्च दररेटको लाइन जडान गरेकाले आफूहरुलाई मान्य नहुने उनीहरुको भनाइ छ ।आफूहरुले माग नै नगरेको ट्रंक लाइनको महसुल कुनै हालतमा तिर्न नसकिने भन्दै जबरजस्ती गरे उद्योग नै बन्द गर्ने उद्योगी चन्द्रमान श्रेष्ठको चेतावनी छ ।यता, नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले प्राधिकरणले पिक आवरमा उद्योग बन्द गर्न भनिए पनि विद्युत् नियमित गरिएकाले ट्रङक लाइनबापतको विलिङ गरिएको दाबी गर्छन् ।उद्योग नै बन्द हुनसक्ने स्थितितर्फ ध्यान दिँदै सरकारले उद्योगीका जाजय चासोलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.