पत्रकार वीरेन्द्र साहको हत्यारा १२ वर्षपछि पक्राउ

बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरेको छ। साह हत्या प्रकरणमा १२ वर्षदेखि फरार रहेका महागढीमाई नगरपालिका ६ का फौजदारलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। घटनापछि लामो समय खुलेयाम घुम्दै आएका फौजदार पछिल्लो समय लुकेर बसेका थिए।

खोजी सूचिमा रहेका फौजदार घरमा आएको सूचना पाएपछि बारा प्रहरीको टोली राति २ बजे उनको घर पुगेको र घरलाई घेरा हालेर फौजदारलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। फौजदारलाई पक्राउ गर्ने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो। फौजदारलाई नियन्त्रणमा लिने क्रममा परिवार र स्थानीयले अवरोध गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो। बारा प्रहरीको नियन्त्रणमा रहेका फौजदारलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।

पत्रकार साह हत्यामा संलग्न अन्य दुई लालबहादुर चौधरी धामी र ईनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन्। यसअघि यसै घटनामा संलग्न रहेका जीतपुरसिमरा उपमहानगरपालिका २० बसडिल्वाका मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी गतवर्ष छुटेका थिए भने रामएकवाल सहनी १० वर्षदेखि वीरगन्ज कारागारमा छन्।

पत्रकार साहको २०६४ असोज १८ बाराको पिपरा बजारबाट अपहरण भएको थियो। अपहरणपछि खोज्दै जाने क्रममा साहको शव कार्तिक २२ गते टांगियाबस्तीको जंगलमा भेटिएको थियो। साहको हत्या भएपछि दोषीमाथी कारवाहीको माग गर्दै बारासहित देशभरका पत्रकार आन्दोलनमा समेत उत्रिएका थिए।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.