विद्यार्थीलाई शिक्षा मन्त्रालयको आग्रहः एसईई परीक्षाको नयाँ तालिका ‘लकडाउन’पछि सार्वजनिक हुने ,

त्रास र दबाबमा नपरी तयारी गर्न आग्रह,

काठमाण्डौ–यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई निर्धारित मितिमै भएको भए झन्डै ४ लाख ८२ हजार विद्यार्थी अहिले परीक्षाको तनाबबाट मुक्त हुन्थे । परीक्षाको नतिजा आउन कम्तीमा तीन महिना लाग्ने भएकाले विद्यार्थीका दिनहरु ढुक्कसँग बितिरहेका हुन्थे । नतिजा आउने बेलासम्म कतिपय विद्यार्थीको दैनिकी घुमफिर, भेटघाट, नयाँ योजना बनाउने तथा सीप सिक्नेजस्ता अनेक काममा व्यस्त हुन्थ्यो । तर एसईई परीक्षा सुरु हुने अघिल्लो दिन गएको चैत ५ गते सरकारले एकाएक परीक्षा स्थगित गर्यो ।

सरकारको यो निर्णयको कारण विद्यार्थी र अभिभावक अन्यौलमा परे । परीक्षा दिनकै लागि खर्चपर्चको जोहो गरी पोकोपन्तुरो, कापी किताब बोकेर घरदेखि टाढा पुगेका कतिपय विद्यार्थी सरकारकोे निर्णयपछि घर फर्कन बाध्य भए । परीक्षाको केन्द्र तोकिएका विद्यालयमा गरिएको तयारी खल्बलियो । परीक्षाको आवश्यक तयारीका लागि सरकारले गरेको खर्च बालुवामा पानी खन्याएसरह भएको छ । मुखैमा परीक्षा स्थगित हुँदा सबैभन्दा बढी मर्का भने विद्यार्थीलाई परेको छ । अर्को निर्णय नहुँदासम्म स्थगित परीक्षा कहिले होला रु विद्यार्थी, अभिभावक र शिक्षक सबैको चासो बनेको छ । चैत ५ गते बेलुका सरकारले गरेको निर्णयसँगै एसईईसहित यो महिना तय भएका अरु परीक्षा पनि स्थगित भएका छन् ।

‘लकडाउन’ पूर्णरूपले खुलेको कम्तीमा २ हप्ताको अवधिमा नयाँ परीक्षा तालिका आउने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई डर, त्रास र हल्लामा नपरी तयारीमा ध्यान दिन शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘परीक्षाको नयाँ तालिका अहिले नै आउँदैन । त्यसैले अफवाहमा ध्यान नदिई पर्याप्त तयारीमा लाग्नुस् ।’ घरमै बसेर परीक्षाको तयारी गर्दा रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा परीक्षाको तयारीका लागि आवश्यक पाठ्यसामग्री उपलब्ध रहेको उहाँले बताउनुभयो ।

सम्भव हुनेले उपलब्ध भएका ती पाठ्यसामग्री हेर्न र सुन्न तथा सम्भव नहुनेले फोनमा शिक्षक तथा साथीहरुलाई सोधेर तयारी गर्न उहाँको सुझाव छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले स्वास्थ्य क्षेत्रका विज्ञसँग सङ्क्रमणको जोखिमबारे परिस्थितिको विश्लेषण गरेर अनुकूल अवस्थापछि आवश्यक निर्णय गर्ने भन्दै शर्माले अहिले घरमै बसेर तयारी गर्नुपर्ने बताउनुभयो ।

एउटा परीक्षा केन्द्रमा तीन सयसम्म विद्यार्थी हुने भएकाले समूहमा निस्कन तथा भेला हुन मिल्ने वातावरण बनेपछि मात्रै परीक्षाको नयाँ तालिका आउने र सार्वजनिक माध्यमबाट जानकारी गराउने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शर्माका अनुसार नयाँ तालिका र मिति विद्यार्थीलाई घरबाट टाढाको परीक्षा केन्द्र पुग्न, बस्ने व्यवस्था मिलाउन र अरु बन्दोबस्त गर्न पुग्नेगरी तय हुनेछ । परीक्षाको आधिकारिक तालिका र मिति पछि तय हुने भएकोले भ्रममा नपर्न उहाँको आग्रह छ । विद्यार्थीलाई अनावश्यक तनाव नलिन र अभिभावकले पनि परीक्षा तयारीमा रहेका आफ्ना बालबालिकालाई तनाव नदिन उहाँको आग्रह छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.