फेसबुक लाइभ गरी दमकडा माविद्वारा वार्षिक परीक्षाफल प्रकाशन

पाल्पा – दमकडा नमूना माध्यमिक विद्यालय पाल्पाले वेवसाइट र फेसबुक लाइभबाट वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । कोरोना संक्रमण र लकडाउनको अवस्थालाई मध्येनगर गरी सूचना प्रविधिको प्रयोग गरेर २०७६ सालको वार्षिक परीक्षाफल प्रकाशन गरिएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो ।विद्यालयमा रहेको कम्प्युटर प्रयोगशालालाई डिजिटल स्टुडियोका रुपमा प्रयोग गरेर विद्यालयले परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयमा रहेका कम्युटरमा इन्टरनेट जडान गरी फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको र ७५ भन्दा बढी विद्यार्थी तथा अभिभावकले लाइभ सूचना लिइरहेका थिए । इन्टरनेट पहुँच र फेसबुक लाइभ सम्पर्कमा नहरेका अभिभावकहरुले रेकर्ड हेरी आफ्ना छोराछोरीलाई बधाई ज्ञापन गरिरहेका छन् ।

आधारभूत तह संयोजक जीवन आचार्यले कक्षा नर्सरीदेखि ५ सम्म, शिक्षक धनपति गैरेले आधारभूत तह ६ देखि ८ सम्म र माध्यमिक तह संयोजक इन्द्रराज श्रेष्ठले कक्षा ९ को परीक्षाको नजिता सार्वजनिक गर्नुभएको छ । शिक्षकहरुले पहिला, दोस्रा र तेस्रा हुनेको नामसहित प्राप्तांक र उत्र्तीण हुनेको संख्या सुनाउनुभयो ।‘दमकडा माध्यमिक विद्यालय नमूना विद्यालय हो, यसका गतिविधि र कार्यक्रम पनि मौलिक र नमूनायोग्य हुनुपर्छ भन्ने सोचेर फेसबुकमार्फत नतिजा सार्वजनिक गरेका हौँ । हामीले नयाँ शैक्षिक शत्र २०७७ को भर्ना पनि खुला गरेका छौँ ।’ विद्यालयका प्रधानाध्यापक सापकोटाले भन्नुभयो ।

डिजिटल युगका शिक्षक र विद्यार्थी रहेको विद्यालयमा कार्यक्रमहरु पनि सिर्जनात्मक र रचनात्मक हुनपर्छ भन्ने मान्यताका आधारमा डिजिटल प्रविधिको प्रयोग गरी नतिजा प्रकाशन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।परीक्षाफल प्रकाशन कार्यक्रममा अध्यक्ष अर्यालले भन्नुभयो, ‘लकडाउनमा पनि विद्यालयको काम गर्ने शिक्षकहरु धन्यवादका पात्र हुनुहुन्छ ।’ कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक होत्रीराज ढुंगानाको स्वागत, शिक्षक प्रकाश पंगेनीको सहजीकरण र अध्यक्ष अर्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो । स्मरणरहोस्, यस वर्ष पाल्पामा वार्षिक परीक्षाफल प्रकाशन गर्ने दमकडा माध्यमिक विद्यालय पहिलो विद्यालय बनेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.