७० वटा पुल बाढीको जोखिममा, सडक निर्माणका सबै काम अलपत्र

काठमाण्डौ – कोरोना भाइरस कोभिड १९ को कारण नेपालका बन्दै गरेका सडक र पुलको काम ठप्प भएको छ । मुख्य काम हुने मौसममा कोरोना भाइरस रोकथामको लागि सरकारले लकडाउन गर्दा पुल र सडकको काम पूरै प्रभावित भएको छ । बर्खाअघि नै खोलामा भर्खरै उठाउन थालेका र टेका दिएर राखेका पूलको काम नसकिए खोलाले बगाउने जोखिम रहेको सडक विभागले जनाएको छ ।
सबै राजमार्गको काम ठप्प
कारोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले सीमा नाका बन्द गरेको छ । जसका कारण विदेशी ठेकेदार कम्पनीका मान्छे नेपाल आउन पाएका छैनन्, विदेशबाट आउने उपकरण आउन पाएका छैनन् । नेपालमै पनि लकडाउनका कारण ठेकेदार तथा कामदार घरबाट निस्कन पाएका छैनन्, निर्माण सामग्री ओसार्ने गाडी गुडेका छ्रैनन् । त्यसकारण निर्माणाधीन र विस्तारको क्रममा रहेका सडकको काम ठप्प छ ।

एक सय १४ किलोमिटर लामो नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम पनि कोरोनाकै कारण अलपत्र परेको छ । चिनियाँ ठेकेदार, कामदार उपकरण नै उतै रोकिएका छन् । रुख र बिजुलीका पोलको विवादले एक वर्ष ढिला काम सुरु भएको यो सडकलाई कोरोनाले अर्को धक्का पुर्‍याएको छ । कोरोनाले मध्यपहाडी लोकमार्गमा पनि असर गरेको छ । मध्यपहाडी लोकमार्गको एक सय ८० किलोमिटर क्षेत्र कालोपत्रे गर्ने काम चैत महिनाभित्रै सक्ने लक्ष्य रहेकोमा त्यो लक्ष्य असफल भएको सडक विभागका महानिर्देशक केशव शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । ‘सबै काम सकेर ठ्याक्क पिच हाल्ने बेलामा कोरोनाको महामारी आयो, अहिले काम ठप्प गर्नुपरेको छ’, महानिर्देशक शर्माले भन्नुभयो ।

यस्तै मदन भण्डारी राजमार्गको हेटौँडा–सिन्धुली–उदयपुर खण्डको काम पनि रोकिएको छ । निकै द्रूत गतिमा काम भइरहेको यो खण्ड तोकिएको समयअघि नै सक्ने लक्ष्य थियो तर कोरोनाको कारण तोकिएको समयभन्दा ढिला सम्पन्न हुने विभागले जनाएको छ । यस्तै कोशी, कर्णाली र गण्डकी करिडोरका सबै सडक निर्माण अहिले प्रभावित भएका छन् । ‘केही ठाउँमा काम भइरहेको छ तर नगण्य मात्रै छ । हामीले लक्ष्य राखेको समयमा रिजल्ट नदिने तरिकाले मात्रै काम भइरहेको छ’, महानिर्देशक शर्माको भनाइ छ ।

झण्डै ७० वटा पुल बाढीको जोखिममा
खोलामा निर्माणको क्रममा रहेका झण्डै ७० वटा पुल बर्खे भेलको बाढीले बगाउने जोखिम रहेको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख दीपक भट्टराईका अनुसार ठूला राजमार्ग र केही मध्यम मार्गका ७० वटा पुल भेलले बगाउने जोखिम छ । अहिले पनि त्यस्ता पुलको तथ्याङ्क सङ्कलन भइरहेको छ । दाङको धारापानीमा बन्दै गरेको बबर्इ नदीको पुल जोखिममा छ । बाँके मच्छेवारको राप्ती नदी पुल, कालीगण्डकी पुल पोखरेबगर म्याग्दी, त्रिशूली पुल बुद्धसिंह नुवाकोट, देवनिया पुल भद्रपुर झापा, मोहना नदी पुल धनगढीलगायतका पुल जोखिममा छन् ।

‘खोलामा टेका लगाएको र कङ्क्रिटिङ गर्न बाँकी रहेको अथवा नयाँ प्रविधि अनुसार कङ्क्रिटिङ भएको र टेन्डन हटाउनुपर्ने अवस्थाका पुल जोखिममा छन्, हाम्रो अहिलेको मुख्य चिन्ता नै यै हो’ विभागमा महानिर्देशक केशव शर्माले भन्नुभयो, ‘यी पुलको काम गर्न नसकेमा बाढीले पुल भत्काउने निश्चित छ ।’अहिले यस्ता पुलको काम गर्न नपाएमा बर्खामा भेलले बगाउने र अर्को हिउँद कुर्नुपर्दा फेरि एक वर्ष पर धकेलिने डर रहेको शर्मा बताउनुहुन्छ ।

‘अहिले ढलान गर्न सकेमा तीनरचार हप्तामा उपयोगमा ल्याउन सकिन्छ तर अब ढिला भयो भने यसले अर्को एक वर्ष पर धकेल्छ, त्यसैले पुलको चासो र चिन्ता बढेको छ’, उहाँको भनाइ छ । जोखिममा रहेका र काम नगरी नहुने पुलको विवरण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको र गृह मन्त्रालयबाट पास गर्ने व्यवस्थाको लागि अनुरोध भएको विभागले जनाएको छ ।

गौशाला–चावहिल सडक छिटै सुधार हुने
काठमाण्डौ उपत्यकाका केही सडकमा रङ्ग रोगन गरेर र रेखा कोरेर सडक विभागले चिटिक्क बनाएको छ । त्यो कामको धेरै प्रशंसा पनि भइरहेको छ । तर वर्षौँदेखि थला परेको गौशला–चावहिल सडकको अवस्था भने सुध्रन सकेको छैन । सडकको बीच भागबाट खानेपानीका पाइप लगिएको कारण पटक पटक सडक मर्मत गरे पनि फेरि उस्तै बेहाल हुँदै आएको छ ।

त्यसैले सडक विभागले सडकको छेउमा खानेपानीका पाइप राख्न सम्बन्धीत निकायलाई अनुरोध गर्‍यो । अहिले पाइप छेउमा सार्ने काम सकिएको तर सडकलाई उधिनेरै नयाँ तरिकाले काम गर्ने बेलामा लकडाउन हुँदा समस्या भएको सडक विभागले जनाएको छ । सडक खाली भएको बेला काम गर्न अनुमति मागिएको र अनुमति पाएमा १५ दिनभित्र गौशाला–चावहिल सडक चिटिक्क हुने विभागका महानिर्देशक केशव शर्माको भनाइ छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.