दाङमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

दाङ – दाङमा अहिलेसम्म कोरोना भाइरस कोभिड १९ को आशङ्कामा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएका सबैलाई होम क्वरेण्टीनमा रहने गरी शुक्रबार बिहान डिस्चार्ज गरिएको छ । अहिले बेलझुण्डीको कोरोना विशेष अस्पतालको आइसोलेशनमा कोही पनि छैनन् । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट यसअघि ४० जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक १७ जनाको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएसँगै दाङमा स्वाब परीक्षण गरिएकाको सङ्ख्या ५७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो। जाँच गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै, दाङका विभिन्न पालिकाले बनाएका क्वरेण्टीनमा रहेका १७ जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गरिएको छ । उनीहरूको नतिजा पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले बताउनुभयो ।दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेशनमा रहेका आठ जनाको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भेटिएको छैन ।

बिहीबार मात्रै तुलसीपुर उपमहानगरपालिका ५ मा रहेका एक परिवारका तीन सदस्यसहित राप्ती गाउँपालिका १ का अर्का एक परिवारका पाँच सदस्यको रिपोर्ट नेगेटिभ आएको हो ।तुलसीपुरका तीन बाबु छोरालाई कोरोनाको आशङ्कामा स्वाब परीक्षणको लागि पठाइएको थियो । भारतीय मस्जिदबाट त्यस परिवारका व्यक्ति भर्खरै मात्र आएको भन्ने हल्ला व्याप्त भएपछि स्थानीय प्रशासनको सहयोगमा स्वाब परीक्षण गर्न पठाइएको थियो । यस्तै, बिहीबार नेगेटिभ रिपोर्ट आउनेमध्ये अर्का पाँच जना एकै परिवारका सदस्य हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.