प्रदेश पाँच सरकारले पैदलयात्रीलाई गन्तव्यसम्म पुयाउने काम शुरु

रुपन्देही, प्रदेश पाँच सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पु¥याउने काम शुरु गरेको छ । लकडाउनका समयमा नागरिकको आवतजावतले कोरोना भाइरसको जोखिम बढेपछि सरकारले विभिन्न स्थानबाट आउनेलाई खानपिनसहित घरसम्म पुग्ने व्यवस्था मिलाएको छ ।प्रदेशका नाकामा रहेका स्थानीय तहले आफ्नो सीमामा आएका पैदल यात्रुलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीय क्वारेन्टाइनमा लगेर स्वास्थ्य जाँँच गर्ने र गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने प्रेस सल्लाहकार केसीले बताउनुभयो । सोका लागि प्रदेश पाँच सरकारले प्रदेशका १०९ वटै स्थानीय तहलाई १० लाखदेखि २५ लाखसम्म विशेष अनुदान दिएको छ । प्रदेश ५ को पूर्वतर्फको प्रवेश नाका बर्दघाटसम्म आएकाहरुलाई रोकेर त्यहीँका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।

बर्दघाटमा एक सय जना अट्ने अस्थायी क्वारेन्टाइन बनाइएको छ । संख्या बढ्दै गएमा राजमार्गमा पर्ने बर्दघाटभन्दा पश्चिमका स्थानीय तहमा व्यवस्थापन गरिने छ । मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनानुसार सुरक्षा निकाय र स्थानीय तहले प्रदेशको सीमाभित्र प्रवेश गरेका नागरिकलाई व्यवस्थापन गर्ने काम शुरु गरेका हुन् ।

छलफलमा मुख्यमन्त्री पोखरेलले स्वास्थ्य सामग्री उपलब्ध भएकाले चिकित्सक सहितका स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ उपचारमा सघाउ गर्न उनीहरुलाई आग्रह गरेका छन् । उनले स्थानीय श्रमलाई प्रयोग गरेर गरिने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोकी अघि बढाउन पनि निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट समेत लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदुर बढी समस्यामा छन् । काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदलै आ–आफ्ना घरतर्फ लागेका छन् । संघीय सरकारले एक पालिकाबाट अर्को पालिका जान समेत रोक लगाएको समयमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापन गर्ने काम थालेको हो । प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेशन अस्पताल समेत निर्माण गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.