विवाद भएपछि क्वरेण्टीनमा बसेका ७ जनालाई वडाध्यक्षहरुले घर पठाए

गोरखा , जिल्लाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ को एक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका ७ जनालाई वडाध्यक्षहरुले घर पठाइदिएका छन् । वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठ र वडा नम्बर ८ का अध्यक्ष काशीनाथ अंगाईले उनीहरुलाई घर पठाइदिनुभएको हो ।

शहीद स्मृति माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका ७ जनालाई शनिबार दिउँसो घर पठाइएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । माविको क्वरेण्टीनमा बैशाख ३ गते हेटौँडाबाट आएका ५ जना र बैशाख ५ गते काठमाण्डौबाट आएका दुई जना बस्दै आएका थिए । उनीहरुको क्वरेण्टीनमा बस्ने अवधि बाँकी थियो ।

क्वरेण्टीन सञ्चालनका विषयमा विवाद भएपछि उनीहरुलाई होम क्वरेण्टीनमा बस्नेगरी घर पठाइएको श्रेष्ठको भनाइ छ । होम क्वरेण्टीनमा पठाइएका सातै जनाको अवस्था सामान्य रहेको श्रेष्ठले भन्नुभयो । गाउँपालिका अध्यक्ष रमेश थापामगरले भने बाहिरबाट आएकालाई क्वरेण्टीनमा राख्ने पालिकाको निर्णयविपरीत उनीहरुलाई घर पठाउनु गलत भएको बताउनुभयो ।नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थानीय नेता उत्तरकुमार श्रेष्ठले वडाध्यक्षहरुले पटक पटक बाहिर आउजाउ गरेको भन्दै उनीहरुलाई पनि क्वरेण्टीनमा राख्नुपर्ने भन्दै फेसबुकमा लेख्नुभएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.