लकडाउनले पाल्पाको पर्यटन व्यवसाय प्रभावित ,ठूलासाना सबै होटल बन्द

तानसेन, पर्यटकीय शहर पाल्पामा आन्तरिक तथा बाह्य पर्यटक लक्षित होटल तथा रेष्टुरेण्ट अहिले पूर्णरुपले बन्द छन् । कोभिड–१९संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण होटल तथा रेष्टुरेण्ट बन्द हुँदा यहाँको पर्यटन क्षेत्रले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । यहाँ अहिले पर्यटक आउने राम्रो समय हो । यस्तो समयमा व्यवसाय सञ्चालन नहुँदा आर्थिक रुपमा ठूलो घाटा व्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । रामपुरमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर गत वर्ष पुसदेखि सञ्चालनमा आएको नमस्ते पाल्पा होटेल एण्ड पार्टी प्यालेस लगायत अहिले ठूलासाना सबै होटल बन्द छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई खाजा र खानाको प्रबन्ध मिलाएका बेला केभिड –१९ का कारण लकडाउन भएपछि होटलमा कार्यरत आठ कामदारलाई विदा दिइएको पार्टी प्यालेसका सञ्चालक शिव पाण्डेले बताउनुभयो । रामपुरमा दैनिकजसो सभा, सम्मेलन, विवाहभोज, तालिम लगायत विविध कार्यक्रम हुने न्यू श्रीनगर एण्ड रेष्टुरेण्ट पनि अहिले बन्द छ । रेष्टुरेण्ट बन्दपछि त्यहाँ कामगर्ने नौ कामदार बेरोजगार बनेका छन् । होटलका सञ्चालक महेश श्रेष्ठले दैनिक सात लाखसम्म आम्दानी हुने होटल बन्द हुँदा निकै समस्या भएको बताउनुभयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ भूकम्पपछि विस्तारै माथि उठेको पर्यटन व्यवसाय फेरि थला पर्ने अवस्थामा पुगेको बताउनुभयो। व्यवसाय बन्द हुँदा ५० प्रतिशत कामदार रोजगार विहीन भएको श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले होटल व्यवसायलाई पाल्पाको पहिचानसँग जोडेर थप व्यवस्थित गर्न थालिएका बेला कोरोना भइरसको संक्रमणले धेरै मानिसको आवत–जावत र सम्पर्क बढ्ने क्षेत्रको व्यवसाय बन्द गर्नाको विकल्प नभएको बताउनुभयो। होटल बन्द भएपछि बैंकमा भएको ऋण तिर्न र कामदारलाई तलब उपलब्ध गराउनसमेत समस्या भएको व्यवसायीको गुनासो छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.