पलाञ्चोक भगवती र चण्डेश्वरी जात्रा स्थगित

काभ्रेपलाञ्चोक ,पाँचखालको पलाञ्चोक भगवती मन्दिर र बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ ।पाँचखाल नगरपालिका प्रमुख एवं पलाञ्चोक भगवती मन्दिर संरक्षण विकास समितिका अध्यक्षसमेत रहनुभएका महेश खरेलले प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको वैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगरिने बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भन्नका लागि नगर कार्यपालिकाको यही वैशाख १६ गते बसेको बैठकले मन्दिरमा पूजा र जात्रा नगर्ने निर्णय गरेकाले जात्रा हुने वैशाख २५ र २६ गते सरोकारवाला सङ्घ संस्था, गुठी तथा भक्तजनलाई उक्त दिन नित्य पूजाबाहेक अन्य कुनै जात्रा कार्यक्रम नगर्नरनगराउन सबै गुठीयारहरुलाई सूचना गर्न मन्दिर भएको वडा नम्बर ९ को कार्यालयलाई पत्राचार गरेको छ ।

यसैबीच बनेपा नगरपालिका–५ चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिरमा वैशाख पूर्णिमामा हँदै आएको जात्रा पनि यस वर्ष स्थगन गरिएको छ । जात्रा व्यवस्थापन गर्ने बनेपा नगरपालिकाले लकडाउनमा जात्रा सञ्चालन नगर्ने निर्णय गरेको हो ।जात्रा हुने चार दिन अगाडि गुठीयारहरुले सानो रथमा त्यहाँका गरगहनाहरु चेक गरी रथारोहण गर्ने गरिएकामा त्यसलाई समेत स्थगन गरिएको छ ।

चण्डेश्वरी निजी खच्चा गुठीका सदस्य रघुवर चौप्रधानले बन्दाबन्दीको अवस्थामा जात्रा सञ्चालन गर्न रोक लगाइएको हुनाले यस वर्ष साधारण पूजा क्षमापूजा मात्रै गरी सम्पन्न गर्ने निर्णय गरेको बताउनुभयो ।अन्य पूजा र जात्रा स्थगन गरिए पनि नियमितरूपमा हुने नित्य पूजा भने सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.