राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

सरकारले आज आर्थिक वर्ष २०७७र७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ ।आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक अपराह्न ४ बजे संसद भवन नयाँ वानेश्वरमा बोलाइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै पौने ४ बजे नै सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।कोरोना भाइरसको संक्रमणको त्रासका कारण बैठक कक्षमा सामाजिक दूरी कायम हुने बस्ने व्यवस्था मिलाइएको पनि प्रवक्ता पाण्डेले बताए । संयुक्त बैठकमा प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद सहभागि हुनेछन् ।

कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ । उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्ति पनि बैठकमा सहभागि हुनेछन् ।अरु बेला बोलाइने गरिएका कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कोभिड–१९ संक्रमणको जोखिमका कारण यसपटक कार्यक्रममा सहभागिताका लागि खबर नगरिएको बताइएको छ । संसद् भवन परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ भने ध्वजापतकाले चिटिक्क सिंगारिएको छ ।

सत्तारुढ नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रो पटक नीति तथा कार्यक्रम ल्याउन लागेको हो । यसपटक कोरोना संक्रमणको चपेटमा अर्थव्यवस्था परेकाले यसैलाई केन्द्रित गरी नीति तथा कार्यक्रम ल्याइदैछ ।आज नीति तथा पेश गर्ने सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.