औपचारिकताका लागि मात्र बैठक बोलाइएको भन्दै नेकपाको सचिवालयमै असन्तुष्टि

सरकारले पार्टीमा छलफलबिनै आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै सत्तारुढ नेकपाको सचिवालयमा असन्तुष्टि देखिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीमा छलफलबिनै सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेकोमा नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दैछिन् । पार्टी सचिवाल सम्ममा पनि छलफल नगरी सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै नेताहरुले असन्तुष्टि जनाएको सचिवालय एक सदस्यले बताए । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले शुक्रबार संसद्‍मा पेस हुने नीति तथा कार्यक्रमका बारेमा ब्रिफिङ गरेका थिए । त्यसलगत्तै उनले अरु नेताहरुलाई आफ्ना सुझाव राख्नुस् भनेका थिए । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायका नेताले अब के सुझाव दिने भन्दै असन्तुष्टि राखेका थिए ।

‘आज नीति तथा कार्यक्रम पेस हुँदैछ । त्यसको सबै तयारी भइसकेको पूर्वसन्ध्यामा सुझावका लागि बैठक बोलाउनु औपचारिकता मात्रै भयो । यसरी हुँदैन । सुझावका लागि पहिलै बैठक बोलाउनु पर्दथ्यो । त्यो भएन । अव बजेटका लागि पहिल्‍यै बैठक बोलाइयोस् भन्ने सुझाव दिएका छौं,’ सचिवालयका ती सदस्यले भने । पार्टी र संसदीय दलमा छलफलबिनै सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै स्थायी कमिटीमा पनि असन्तुष्टि छ । यसै विषयमा छलफल गर्न नेकपाले बुधबार स्थायी कमिटीको बैठक बोलाएको थियो ।

तर, अन्तिम समयमा आएर कोरोना संक्रमणलाई देखाउँदै बैठक स्थगित भएको छ । अब स्थायी कमिटी बैठकको विषयमा सरकारको नीति तथा कार्यक्रमपछि नेतृत्वबीच छलफल भएपछि टुंगो लाग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.