लकडाउनमा कस्ता खालका आँखाका बिरामीले के गर्ने?

सरस्वती भण्डारी/ आँखाको अप्रेसन गरेर फर्किनुभएकी भारत, बलियाकी विद्यावती चाची लकडाउनका कारण सीमापारि नै अड्किनुभयो। सीमा बन्द भएका कारण उहाँ फलोअपका लागि अस्पताल आउन सक्नुभएको छैन। उहाँलाई अहिले के समस्या छ, केही थाहा हुन सकेको छैन। अस्पतालमा भीडभाडका कारण धेरै गफ हुन पनि पाएको थिएन। अप्रेसनपछि दबाई घटायर लगाउनु भनेकी थिएँ। औषधि उतै पाउनुभयो कि भएन, अहिले के गर्दै हुनुहोला अर्घाखाँचीका हरि काका लकडाउनको अघिल्लो दिन मात्रै सुगरका कारण आँखामा समस्या देखिएकोले लेजर गराएर जानुभएको थियो। १ महिनामा पुनः लेजर गर्न आउनु भनेको थिएँ। तर लकडाउनका कारण आउन सक्नुभएन। अहिले कहिले लकडाउन खुल्ला भनेर दिन गन्दै हुनुहोला। घर जाने बेलामा सुगरको मात्रा नियन्त्रणमा राख्न तथा औषधि नियमित खान सुझाइएको थियो। आफ्नो ख्याल त अवश्य नै राख्नुभएको थियो होला।

विद्यावती चाची र हरि काका मात्र होइन, हरेक वर्ष गर्मी सुरु भएलगत्तै आँखा चिलाउने, रातो हुने, दुख्ने जस्ता एलर्जीका समस्या लिएर आउने मर्चवारका जगमोहन यादव, छहराकी मनमाया बहिनी, वामिटक्सारका टीकाराम दाइ, लुम्बिनी ग्रिल उद्योगमा काम गर्ने दिलिप साहनी भाइहरुको अवस्था अहिले कस्तो होला? भनेर चिन्तित हुने गरेकी छु। लकडाउनअघि अस्पतालमा दैनिक १००-१२०० जति बिरामी विभिन्न समस्या लिएर आउने गर्दथे। अहिले ती सबैको अवस्था कस्तो छ? के सबैका आँखा ठिकै छन् त? सम्झँदा जिउ जिरिङ्ग भएर आउँछ। तर फेरि सकारात्मक हिसाबले सोच्दा मनमनै भन्ने गर्छु, समस्यामै कमी भएको होला। दैनिक अस्पताल आउनेमध्ये केही प्रतिशत चस्मा बनाउने उदेश्यका लागि, केही प्रतिशत सामान्य चिलाउने, बिझाउने समस्याका लागि, केही प्रतिशत कुनै खराबी छ कि भनेर पत्ता लगाउनमा लागि, केही प्रतिशत फिजिसियन तथा अन्य चिकित्सकले प्रेषण गरेका, केही बिरामीको साथमा आएका व्यक्तिहरुले मौकाको फाइदा उठाउने उद्देश्यले आँखा जँचाइहालौं भन्ने तथा थोरै मात्रामा चाहिँ रोजगारका शिलशिलामा आवश्यक पर्ने फिटनेसका लागि आँखा जाँच गर्नका लागि आउने गरेका हुन्छन्। यस्ता व्यक्तिहरुले अस्पताल जाने समयलाई अलि पर सारेर बसेका होलान् तथा दैनिक क्रियाकलापहरुमा कमीका साथै बाहिरी वातावरणसँग प्रत्यक्ष सम्पर्क हुन नपरेका तथा दुर्घटनामा पनि कमी भएका कारण समस्यामा अवश्य कमी भएका होलान्। यी व्यक्तिहरु संयमित भएर घरमा बस्दा हुन्छ, केही समय ढिला हुँदैमा खासै क्षति हुँदैन। यस लकडाउनको अवस्थामा घरमै बसि सम्यमता अपनाउन तथा कुनै समस्या वा जिज्ञासा रहेको खण्डमा नेत्र विषेशज्ञ वा नेत्र प्राविधिकसँग परामर्श लिनका लागि आग्रह गर्दछु।

त्यसैगरी अलि बढी प्रतिशत भनेका मोतिविन्दुको अप्रेसन गर्नुपर्ने व्यक्तिहरु अस्पताल आउने गरेका पाइन्छ। मोतिविन्दुको प्रकृति हेरेर अप्रेसनको आवश्यकता पहिचान गरिन्छ। सामान्य उमेर बढ्दै गर्दा हुने मोतिविन्दु धेरै मात्रामा बढिसकेको छैन, केही मात्रामा दृष्टि छ भने अप्रेसनका लागि केही समय पर्खन सकिन्छ। तर अरु कारणले भएका मोतिविन्दु तथा धेरै छिप्पिसकेको मोतिविन्दु छ भने अप्रेसनका लागि ढिला गर्दा क्षति हुनसक्छ। आफ्नो अवस्थाबारे जानकारीका लागि नेत्र विषेशज्ञ वा नेत्र प्राविधिकसँग परामर्श लिनका लागि आग्रह गर्दछु। त्यसपश्चात् दैनिक अस्पताल आउनेमध्ये केही प्रतिशत अत्यन्तै बढी समस्या भएर, पीडा सहन नसकेर वा तुरुन्तै उपचार नगरेको खण्डमा आँखा बिग्रन सक्ने खालका (जस्तैः चोटपटक, अकस्मात दृष्टि कम हुने, अप्रेसनपश्चात् अकस्मात आँखा रातो भई दुख्ने, आँखामा केमिकल परेको आदि) जस्ता बिरामीहरु पनि दैनिक रुपमा अस्पताल आउने गर्छन् र यो लकडाउनको समयमा धेरै समस्या परेको र जाँच गराउन आउनैपर्ने यी व्यक्तिहरु घरमै बस्नाले अझ हानि हुने र सधैंका लागि आँखाको दृष्टि गुम्न सक्छ।

यस्ता बिरामीको नियमित गुणस्तरीय सेवा प्रदान गर्न आँखा अस्पतालहरुका लागि यस समयमा चुनौतीको विषय हो। त्यसैले यी व्यक्तिहरुले नेत्र विषेशज्ञ वा नेत्र प्राविधिकसँग परामर्श लिई अस्पताल आउनु जरुरी हुन्छ। आपतकालिन सेवा २४सै घन्टा खुला रहन्छ। अन्त्यमा देशलाई परेको समस्याको बेला सबै जना संयमित भई लकडाउनको पालना गरौं। अति आवश्यक अवस्था बाहेक कुनै किसिमको कार्यका लागि बाहिर ननिस्कौं। आँखाको साथसाथै आफ्नो शरीरको ख्याल गरौं। चिकित्सकले सुझाएका औषधि मात्र प्रयोग गरौं। नियमित रुपमा सफा पानीले आँखा तथा हात मुख धुने गरौं।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.