सबैलाई झस्कायो :श्रीमतीकै योजनामा हत्या गरिएका दुलालको फेसबुक स्टाटसले

विराटनगर, हत्या गरिएका विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालले वैशाख २३ गते मंगलबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस पोस्ट गरेका थिए। उनको हत्या भएपछि उक्त स्टाटसले सबैलाई झस्काएको छ। स्टाटसमा लेखिएको थियो, ‘कोरोनासित लड्ने हो डराउने हैन, श्रीमतीसित डराउने हो लड्ने हैन’ किनभने अहिलेसम्म दुईवटैको औषधि आएको छैन।

यस्तो स्टाटस लेखेको ११ दिन वित्न नपाउँदै आफ्नै श्रीमतीको हातबाट उनको हत्या भयो। उनलाई नजिकबाट चिन्नेहरु मृत्यु स्टाटससँग मेल खान पुगेको तर्क गर्छन्। ‘श्रीमतीसित डराउने हो’ भनेर स्टाटसमा उल्लेख गरेको ११ दिन वित्न नपाउँदै श्रीमतीकै योजनामा दुलालको हत्या भएको घटनालाई अस्वभाविक रुपमा लिइएको उनका निकटस्थ राजु विष्टको भनाइ छ। उनले भने, ‘आखिर मृत्यु पनि श्रीमतीकै हातबाट भयो। स्टाटससँग नै मेल खाने हिसाबको अस्वभाविक र अपत्यारिलो घटना हुनपुग्यो।’

हत्यापछि अनुसन्धानका क्रममा फेला पारिएको स्टाटसले सबैलाई अचम्मित बनाएको प्रहरीका एक अनुसन्धान अधिकृतको भनाइ छ। ‘श्रीमतीसँग जोडेर दुलालले पोस्ट गरेको स्टाटसले धेरै ठूलो अर्थ राख्छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘आखिर निदाएका बेला थाहै नपाइकन श्रीमतीकै योजनामा हत्या भएपछि घटनाले स्टाटसको मर्मलाई पनि पुष्टि गर्‍यो।’ विश्वभर महामारीको रुप लिएको कोरोनाभन्दा पनि श्रीमती खतरा हुन्छन् भन्ने उनको तर्कले उनका लागि मेल खाएको अनुसन्धान अधिकृतको भनाइ छ।

स्टाटसको भावले श्रीमतीले धेरै तनाव दिने गरेको हुनसक्ने प्रहरीको बुझाइ छ। ‘धेरै तनाव दिने गरेकाले विगतदेखि नै उनी श्रीमतीबाट धेरै प्रताडित थिए भन्ने कुरा स्टाटसले प्रष्ट पार्छ। श्रीमतीसँग त्रसित र आतंकित थिए भन्ने खुल्छ,’ प्रहरीका एक अधिकारीले भने।

शनिबार राति दुलालको हत्या भएको थियो ।उनको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल, उनका प्रेमी सिरहाको लाहान नगरपालिका–१० घर भएका २१ वर्षीय ब्रह्मदेव साह र इटहरी–१२ का २० वर्षीय सोनु साहको संलग्नता खुलेको छ। घटनाको वास्तविकता पत्ता लगाउँदै घटना भएको दुईदिन वित्न नपाउँदप्रहरीले तीनै जनालाई पक्राउ गरेर सोमबार भिडियो कन्फ्रेन्समार्फत सार्वजनिक गरेको छ। प्रहरीले किरिया समेत बस्न नदिइ श्रीमानको हत्यामा संलग्न मीनालाई पक्राउ गरेर सेतै कपडामा सार्वजनिक गर्‍यो।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अनुसन्धानका क्रममा फिङ्गर प्रिन्टहरु नआओस भनेर हातमा पञ्जा लगाउँदै सुतेको समयमा तीनै जनाले प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको खुलेको जानकारी दिए। उनका अनुसार घाँटी कस्ने क्रममा डोरी छिने पनि हत्यामा संलग्नहरुले भने नछाडेको पाइएको छ।

हत्यामा संलग्न ब्रह्मदेवलाई आइतबार साँझ विराटनगरको बरगाछीबाट प्रहरीले पक्राउ गरेको थियो। सोनुलाई सोमबार साँझ सुनसरीको खनारबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए। घटनास्थलबाट बरामद भएका मोबाइल लगायतका अन्य सामानलाई प्रहरीले परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी गरेको छ। परीक्षण रिपोर्ट आएपछि घटनाका बारेमा थप कुरा सार्वजनिक हुने एसपी अधिकारीले बताए। हत्यामा संलग्न तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.