लगातार ५ जनामा कोरोना संक्रमण भएपछि प्रादेशिक क्वारेन्टाइन सील

लगातार ५ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रादेशिक क्वारेन्टाइनलाई सील गरिएको छ ।धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा प्रदेश सरकारको लगानीमा सञ्चालित क्वारेन्टाइनलाई सील गरिएको हो ।जेठ ३ गते १ जना, जेठ ४ गते २ जना र जेठ ६ गते २ जनामा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनलाई नेपाली सेनाको सहयोगमा सील गरिएको छ । धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणका नेपाली सेनाको कर्नेल गजेन्द्र रावलको नेतृत्वको टोलीले सील गरेको क्वारेन्टाइनका संयोजक सन्तोषकुमार ठाकुरले बताए ।

सील भएका कारण तत्काल क्वारेन्टाइनमा नयाँ व्यक्तिलाई राखिने छैन । ‘क्वारेन्टाइनमा ८४ जना छन्, अब न कोही आउन पाउनेछन्, न कोही बाहिर जान पाउनेछन्,’ ठाकुरले भने, ‘क्वारेन्टाइनबाट डिस्चार्ज भएर जाने व्यक्ति पनि तत्कालै बाहिर जान पाउने छैनन् ।’संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण क्वारेन्टाइनमा २१ दिन बिताएर डिस्चार्ज हुने व्यक्ति पनि जान नपाउने भएका हुन् । ‘आज बुधवार ८ जना व्यक्ति डिस्चार्ज हुनुपर्ने थियो तर संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण डिस्चार्ज हुन पाएनन्,’ उनले भने । अब सबै जनाको पुनः स्वाब संकलन गरेर परीक्षण गरेपछि मात्रै घर जान दिइने छ ।

क्रमशः सबै जना डिस्चार्ज भई क्वारेन्टाइनलाई स्यानिटाइज गरेपछि मात्र नयाँ व्यक्ति राख्न शुरू गरिने ठाकुरले बताए । १२० शय्या क्षमता रहेको क्वारेन्टाइनमा हालसम्म २२० जना राखिएकोमा ५ जना संक्रमित भएर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका छन् भने १४१ जना घर गइसकेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.