ल लकडाउनमा युट्युबमा हेर्न सकिने ७ हिन्दी कमेडी फिल्म

फिल्मको संवाद, पात्रहरूको निर्दोषपना, उनीहरूको मूर्खता वा बठ्याँइजस्ता कुराले हामी फिल्म हेरेर हाँस्छौं–रुन्छौं। हल्काफुल्का किस्सा जोडेर हँसाउने फिल्मको असर क्षणिक भए पनि पटकथा, संवाद, स्क्रिनप्ले र अभिनयको संयोजनले हँसाउने फिल्महरू दर्शकका आँखामा धेरै वर्ष बाँच्छन्।यहाँ यस्तै ७ फिल्मको सूची छ।यो सूचीमा करिब दस वर्षअघिदेखि ५० वर्षअघि बनेका फिल्म छन्। दसकौंअघि बनेका फिल्ममा आज पनि दर्शक हँसाउने सौन्दर्य भेटिन्छ। पचास वर्षभन्दा पुराना फिल्म हेर्दा लाग्छ, केही कथा कहिल्यै पुराना हुँदैनन्। पछिल्ला दशकमा बनेकाहरू भोलिका दर्शकका लागि हाँस्यप्रधान फिल्मका मानक बन्न सक्छन्।

मन र दिमाग हलुका बनाउने हाँस्यप्रधान फिल्मलाई मानव जीवनका दुःखबाट केही घन्टाका लागि भए पनि बाहिर निस्कने माध्यमका रुपमा व्याख्या गरिएको पाइन्छ। लकडाउनको समयमा यी हाँस्यप्रधान फिल्मले पनि त्यस्तै काम गरून्।
बर्फी, बर्फी, नामै स्वादिलो। फिल्म पनि नामजस्तै छ भन्दा फरक पर्दैन।’बर्फी’ मा सन् १९७० को दशक र २०१० को आसपासको समय सँगसँगै अघि बढ्छ। यी कथा फरक-फरक पात्रले सुनाउँछन्।फिल्म श्रुति (इलियाना डिसुजा) ले सुनाउने कथाबाट सुरू हुन्छ। प्रहरी पछिपछि र चार्ली चाप्लिनझैं देखिने पात्र (रणवीर कपुर) अघिअघि भागेको दृश्यबाट दर्शक ‘बर्फी’सँग परिचित हुन्छन्। बर्फी मिठाइ हैन, फिल्मको पात्रको नाम हो। पात्रको यो नाम किन राखियो फिल्ममा त्यसको रमाइलो किस्सा छ।

बोल्न-सुन्न नसक्ने बर्फी दार्जिलिङमा बस्ने गाडी चालकका छोरा हुन्छन्। बर्फीको जीवनमा जोडिने श्रुति र झिलमिल (प्रियंका चोपडा) को वरिपरि फिल्मको कथा घुमेको छ। झिलमिल पनि बर्फीजस्तै शारीरक र मानसिक समस्या भएकी पात्र हुन्फ्ल्यासब्याक र वर्तमान जोड्दै भनिएको र विभिन्न तहमा जोडिएको कथा सरल भएर पनि प्रस्तुति पृथक छ। निर्दोष र कमजोरीसहितका ‘बर्फी’का पात्रमा पाइने मस्तीले दर्शकको मन बहलाउँछ।

शब्द बिनै भाव व्यक्त गर्न सक्ने रणवीर र प्रियंकाको अभिनय तारिफयोग्य छ। फिल्ममा बर्फी, झिलमिल र श्रुति तीन जनै मुख्य पात्र अधुराजस्ता भएर पनि पूर्ण छन्।’बर्फी’, ‘फिर ले आया दिल’, ‘क्यो ना हम तुम’जस्ता गीतले फिल्मलाई अझ अर्थपूर्ण बनाएको छ।कथा बुन्ने अनुराग बासुको शैली सुन्दर छ। रमाइलो शैलीमा कथा बुन्दै निर्देशकले दर्शकलाई पात्रहरूको संवेदनानजिक पुर्याएका छन्। फिल्ममा सौरभ शुक्ला प्रहरी र नेपाली कलाकार भोलाराज सापकोटा बर्फीका साथीको भूमिकामा देखिन्छन्।

हेराफेरी, निर्देशक: प्रियादर्शन (२०००)

बाबुराव गणपतराव आप्टे, नाम सुन्दै हाँसो उठ्ला। यिनै पात्रसँग पर्दामा भेट भयो भने त्यो हाँसोको मात्रा चुलिँदै जाने पक्का छ। ‘हेराफेरी’मा यो पात्रको भूमिकामा परेश रावलले अभिनय गरेर निकै प्रशंसा बटुलेका थिए।

‘हेराफेरी’ बाबुराव (परेश रावल), श्याम (सुनील सेट्टी), राजु (अक्षय कुमार) र अनुराधा (तब्बु) पात्रको वरिपरि घुम्छ। फिल्मका सबै पात्रलाई एक वा अर्को तरिकाले पैसाको खाँचो छ। हरेकका आफ्नै पारिवारिक समस्या छन्।

बाबुरावलाई रक्सी पिउने पैसा चाहिराख्छ। गाउँबाट सहरमा कामको खाजीमा सहर आएको श्याम बाबुरावको ग्यारेजको छहारीमा पुग्छ। बाबुरावकहाँ भाडामा बस्ने छट्टु राजुसँग उसको विभिन्न कारणले लडाइँ हुन्छ। यी दुईको झगडाले बाबुरावलाई तनाव दिए पनि यी दृश्यले दर्शकलाई रमाइलो गराउँछ।अनि श्यामसँगै जागिर खोजिरहेकी अनुराधा जोडिन्छिन्।

यस्तै झैझगडा र मनमुटावका घटनाबीच एक दिन अकस्मान बाबुरावको फोनमा अपहरण गर्ने समूहको धम्कीसहितको सन्देश आउँछ। यसपछि उनीहरू अपहरणकारी र अपहरण गर्ने परिवारलाई चक्मा दिएर पैसा कमाउने योजना बनाउँछन्। यहीँबाट ‘हेराफेरी’को हेराफेरी सुरू हुन्छ। यो दौडमा दर्शकको हाँसोले थकाइ मार्ने मौका पाउँदैन।

निर्देशक प्रियादर्शनको ‘हेराफेरी’ले बलिउडमा हाँस्यप्रधान फिल्मको लामो खडेरी पुर्ने काम गरेको थियो। यसपछि त हाँस्यप्रधान फिल्मको नयाँ लहर नै सुरू भयो। ‘फिर हेराफेरी’ नामको यसको सिक्वेल पनि युट्युबमा हेर्न पाइन्छ।

चाची ४२०, निर्देशकः कमल हसन (१९९७)
बहुप्रतिभाशाली कलाकार मानिने कमल हसन पहिलो पटक निर्देशक बनेकाे यो फिल्म तमिल भाषाको हिन्दी रिमेक हो।’चाची ४२०’ मा उनले पुरुष र महिला गरी दोहाेरो भूमिका निर्वाह गरेका छन्। फिल्मको नाम उनले निर्वाह गर्ने महिला पात्रबाटै राखिएको हो। यसमा तब्बु कमल हसनकी पत्नी र अमरिश पुरीकी छोरीको भूमिकामा देखिन्छिन्।श्रीमतीसँग कानुनी रूपमा सम्बन्ध विच्छेद भएपछि जय (कमल हसन) ले हप्तामा एकपटक मात्रै छोरी भेट्ने अनुमति पाएका हुन्छन्। तर छोरीलाई उसकी आमाको घरबाट चोर्ने गल्तीले गर्दा उसले यो मौका पनि गुमाउँछन्।

छोरीसँग नजिक रहने उपाय सोचिरहेको बेला जानकी (तब्बु) का घरमा काम गर्ने महिला चाहिएको विज्ञापन जयले देख्छ। जय लक्ष्मी गोडबोलेको भेषमा छोरीनजिक पुग्ने निर्णयमा पुग्छ।बुबाको छोरीसँग नजिक हुने यो प्रयासमा आउने अप्ठ्यारालाई रोचक तरिकाले फिल्ममा देखाइएको छ। श्रीमान र ज्वाइँ बनेर जित्न नसकेको मन जयले ‘चाची’ बनेर जित्छ। नक्कली चाचीको नाटक गर्दागर्दै उसलाई मन पराउने पुरुष पात्र पनि निस्किएपछि फिल्म थप रमाइलो बन्छ।सानो-ठूलो सबै भूमिकाका कलाकारले राम्रो अभिनय गरेको यो फिल्ममा चाची बनेर कमल हसनले देखाउने चर्तिकला नै सबैभन्दा आकर्षणको विषय हो।

अन्दाज अपना अपना, निर्देशकः राजकुमार सन्तोषी (१९९४)

अहिले बलिउडका दुई सुपरस्टार आमिर खान र सलमान खानको ‘अन्दाज अपना अपना’ धेरैको रोजाइमा पर्ने फिल्म हो। आफ्नो समयका चल्तीका अभिनेता रबिना टन्डन र करिश्मा कपुरबाहेक देवेन वर्मा, जगदीप, परेश रावल र शक्ति कपुर फिल्मका अन्य मुख्य कलाकार हुन्।

धनी बाबुकी एक्ली छोरीको मन जितेर पाइने सम्पत्तिको लोभले हिँडेका दुई युवाको कथा हो, ‘अन्दाज अपना अपना’।एनआरआई करोडपतिकी एक्ली छोरी योग्य वरको खोजीमा लन्डनबाट भारत आएको थाहा पाएपछि भोपालका अमर (आमिर) र प्रेम (सलमान) ऊँटी जाने बस चढ्ने बेला एक अर्कासँग पहिलो पटक ठोक्किन पुग्छन्। एउटै उद्देश्य बोकेर हिँडेका यी दुई जना कहिले साथी त कहिले दुश्मनजस्तै व्यवहार गर्छन्। एकअर्काका प्रतिस्पर्धी भए पनि परिस्थितिले यी दुईलाई झनै नजिक ल्याउँछ।

आफ्नो पृष्ठभूमि गलत बताएका यी दुई पात्रजस्तै फिल्ममा आउने अरु धेरै पात्रको पृष्ठभूमिको आफ्नै कथा र रहस्य छ। जति धेरै पात्र जोडिँदै, ठोक्किँदै आउँछन्, फिल्म रोचक बन्दै जान्छ। जस्तो, करोडपतिको सम्पत्तिमा आँखा लगाउने आपराधिक समूह पनि रबिनाको पछि लागेको हुन्छ। रबिनासँगै करिश्मा पात्रको पनि आफ्नै कथा छ।जति धेरै पात्र भए पनि यो फिल्म हाँसखेल गर्दा गर्दै सकिन्छ। फिल्ममा शक्ति कपुरले निर्वाह गरेको क्राइम मास्टर गोगोको चरित्र लोकप्रिय छ।
https://youtu.be/ttCUfDtrYlU

गोलमाल, निर्देशक ऋषिकेश मुखर्जी (१९७९)

हिन्दी फिल्मका पारखीलाई सबभन्दा मन परेको फिल्मको सूचीमा पहिलो क्रममा ‘गोलमाल’को नाम आए अचम्म हुँदैन। ‘गोलमाल’मा त्यस्तो के छ?’गोलमाल’भित्र धेरै कुरा गोलमटोल छ। फिल्मको प्रारम्भमै आउने गीतले भनेझैं सबै गोलमाल छ।भवानीशंकर (उत्पल दत्त) परम्परागत मूल्य मान्यता राख्ने एकदमै कडा मिजासको मान्छे हुन्। आधुनिक पहिरन मन नपराउने भवानी जुँगा नभएका मान्छेलाई चरित्र नभएको मान्छे ठान्छन्। यस्तो सोचाइ राख्ने भवानीकहाँ जुँगावाला र शालीन कुर्ता पाइजामा लगाउने रामप्रसाद (अमोल पालेकर) जागिर माग्न आउँछन्। रामप्रसादको सरल आवरण र शुद्ध हिन्दीबाट भवानी प्रभावित हुन्छन्।

रामप्रसाद आफ्नो कामबाट पनि भवानीलाई प्रभावित पार्न सफल छन्। तर एक दिन आमा बिरामी भएको बहाना पारेर रामप्रसाद हक्की म्याच हेर्न गएको थाहा पाएपछि संकटमा पर्छन्। जागिर जोगाउन रामप्रसादले आफूलाई नभएर आफ्नो जुँगाविहीन भाइ लक्ष्मणलाई देखेको होला भनेर भवानीप्रसादको विश्वास कायम राख्न सफल हुन्छ।

तर यही भनाइले उसले डबल भूमिकाको नाटक गर्नुपर्ने स्थिति आउँछ। रामप्रसाद बनेर जागिर खाने उनी भवानीकी छोरी उर्मिला (विन्दिया गोस्वामी) लाई संगीत सिकाउन थाल्छन्। परम्परागत हुलियाको जुँगावाल रामप्रसादलाई वास्ता नगर्ने उर्मिला जुँगा नभएको लक्कीप्रति आकर्षित हुन्छिन्।

जुँगावाला र जुँगाविहीन दोहोरो भूमिकाको खेलमा रामप्रसादले भवानीप्रसादलाई कति दिन झुक्याउलान्? परम्परागत र आधुनिक सोच शैली र मूल्य मान्यताको टकरावको यो रोमाञ्चक खेल कहाँ गएर कसरी टुंगिएला? यही नै ‘गोलमाल’को कथा हो।

‘गोलमाल’ अमोल पालेकर र उत्पल दत्तको बेजोड चरित्र र अभिनयका कारण यादगार फिल्म बन्न पुग्योनिर्देशक ऋषिकेश मुखर्जीका अन्य धेरै फिल्मजस्तै यो पनि घरभित्रको सानो सन्दर्भको कथा हो। यसमा पनि मध्यम वर्गीय परिवारको मूल्य मान्यता र साना तर अर्थपूर्ण नोकझोंक हेर्न पाइन्छ। मसिना तर आममान्छेसँग जोडिएका घरघरभित्रको कथा भन्ने ऋषिकेष मुखर्जीको यो फिल्मको ‘आनेवाला पल जानेवाला है’ गीत पनि उत्तिकै दमदार छ।

पडोसन, निर्देशक: ज्योती स्वरुप (१९६८)

हाँस्यप्रधान फिल्मको सूचीमा पचास वर्ष पुरानो ‘पडोसन’को नाम छुटाउन मिल्दैन। दुई छिमेकीको प्रतिस्पर्धा, प्रेम र घृणालाई रोचक तरिकाले प्रस्तुत गरिएको ‘पडोसन’मा। महमुद, सुनील दत्त, किशोरकुमार, सायरा बानु, ओमप्रकाश आदि मुख्य भूमिकामा छन्।

गाउँले केटा भोला (सुनील दत्त) सहरीया छिमेकी केटी विन्दु (सायरा बानु) प्रति आकर्षित हुन्छन्। भोला संगीत गुरू विद्यापति (किशोरकुमार) को नजिक छन् भने विन्दु संगीत गुरू मास्टर पिल्लाई (महमुद) को नजिक छन्। दुई संगीत गुरूको भूमिका नै ‘पडोसन’को प्राण हो।संगीत गुरू विद्यापति नै भोलाको प्रेम गुरू पनि बन्छन् र विन्दुको नजरमा भोलालाई हिरो बनाउने जुक्ति पनि निकाल्छन्। त्यो जुक्ति हो, संगीत। विन्दुले संगीत मन पराउने थाहा पाएपछि विद्यापतिले भोलाका लागि पृष्ठभूमिबाट आफ्नो स्वर दिन्छन्।

विन्दुलाई मन पराउने मास्टर पिल्लाईलाई नहराई विन्दुलाई प्रभावित पार्न सम्भव हुँदैन। मास्टर पिल्लाई पनि भोलालाई चुनौती दिन तम्तयार छ। यो प्रतिस्पर्धामा हुने हानथापका दृश्यले दर्शकमा एकपछि अर्को रमाइलो थप्छ।

विन्दुको मन जित्ने प्रतिस्पर्धामा एकसे एक गीत जन्मिन्छ, जसमध्ये सबैभन्दा रोचक हो ‘एक चतुरनार करके शृंगार’। यो गीत गायकीको हिसाबले जति गाह्रो भए पनि दर्शकका लागि फिल्मकै सबभन्दा रमाइलो क्षण बन्छ। मन्नाडे र किशोर कुमारको गायनको यो गीतमा दुई संगीतज्ञबीचको प्रतिस्पर्धा रोचक छ।

‘पडोसन’का संगीतकार आरडी बर्मन भए पनि यो गीतको ‘कन्सेप्ट’मा किशोर कुमारको हात रहेको मानिन्छ। यसबाहेक ‘मेरे सामनेवाली खिड्की मे’ र ‘मै चली पडोसनका’ अन्य चर्चित गीत हुन्।दुइटा झ्यालकै सेरोफेरोमा खिचिएको रोचक र सांगीतिक फिल्म राम्रा कलाकार छनोटका कारण पनि रमाइलो बनेको छ।

चलती का नाम गाडी, निर्देशक: सत्यन बाेस (१९५८)

श्यामश्वेत जमानाको भए पनि ‘चलती का नाम गाडी’का पात्र, संवाद, गीत, संगीत र कहानी सबै रंगीन छ। यो फिल्मलाई कतिपय समीक्षकले बलिउडको पहिलो वास्तविक कमेडी फिल्मको दर्जासमेत दिएका छन्।फिल्ममा बृजमोहन (अशोक कुमार) आफ्ना भाइहरू जगमोहन (अनुप कुमार) र मनमोहन (किशोर कुमार)सँग मिलेर अटोमोबाइल ग्यारेज चलाउँछन्। अतीतको खास घटनाका कारण बृजमोहन महिलालाई घृणा गर्छन्। उनी आफ्ना भाइहरू पनि महिलासँग टाढै बसून् भन्ने चाहन्छन्।

तर यो चाहना फिल्ममा रेणु (मधुबाला)को प्रवेशअघिसम्म मात्रै कायम हुन्छ। आधा रातमा ग्यारेजमा गाडी बनाउन आएकी रेणुले आफ्नो पर्स ग्यारेजमै छोडेर जान्छिन्। तर पर्समा पैसा नभएर एउटा कार्यक्रमको पासमात्रै हुन्छ।आफ्नो मजदुरीको पाँच रुपैयाँ बाह्र आना लिन मनमोहन अर्थात् मनु रेणुको घरसम्मै पुग्छन्। लुकीछुपी पर्स फिर्ता दिए पनि आफ्नो पैसा लिन नपाई उनी रेणुको घरबाट भाग्नुपर्ने स्थिति आउँछ। त्यही बेला उनले कसैले एउटा शव गाडीबाट निकालिरहेको दृश्य देख्छन्। यसपछि कथाले रोचक मोड लिन्छ।

अशोक, अनुप र किशोर तीन जना वास्तविक जीवनकै दाजुभाइ हुन्। उनीहरूको पर्दामा पनि दाजुभाइका रुपमा देखिनु आफैंमा फिल्मको विशेषता थियो। पात्रलाई झैं गाडीको नाम क्रेडिट लाइनमै दिइएको यो फिल्ममा तीन दाजुभाइ चढ्ने गाडी उनीहरूका बुबाको हो। बम्बईका सडकमा चालक बिनै गुड्ने यो गाडीमात्रै नभई फिल्मभित्रका अन्य महत्वपूर्ण घटनामा पनि गाडी छुट्दैन।

एसडी बर्मनको संगीत मजरुह सुल्तानपुरीको शब्दमा किशोरकुमार र आशा भोसलेको स्वरका गीत सुमधुर छन्। ‘इक लड्की भोलीभाली सी’, ‘चलती की नाम गाडी’, ‘हाल कैसा है जनाबका’, ‘पाँच रुपैयाँ बाह्र आना’ सदाबहार गीत हुन्।पात्रबीचको रोचक द्वन्द्व र चट्पटा संवादका कारण सत्येन बोसको निर्देशनको ‘चलती का नाम गाडी’ झन्डै ६० वर्षपछि हेर्दा पनि पुरानो लाग्दैन।धेरै कलाकारको भिडमा किशोरकुमार र मधुबालाबीचको नोकझोंकवाला प्रेम विशेष लाग्छ। त्यो पर्दाभित्रको प्रेम यही फिल्मको सिलसिलामा वास्तविक प्रेममा बदलियो र उनीहरूले बिहे नै गरे।
https://youtu.be/tnifMtdlnEA

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.