पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शनिबार बिहान उपचारको क्रममा एक पुरुषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।उनका अनुसार पोखरा– १४का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार उनको ७ भदौमा इमर्जेन्सी एक्सपोलोटरी ल्याप्रोटोमी अप्रेसन गरिएको थियो । अप्रेसनपश्चात् कोरोना संक्रमणको आशंकामा ८ भदौमा स्वाब संकलन गरी परीक्षण गर्न पठाइएकोमा १० भदौमा कोरोना पोजेटिभ देखिएको थियो । उनको उपचारमा संलग्नसहित अस्पतालका ३५ जना कर्मचारी हाल क्वारेन्टिनमा छन् ।

‘उहाँलाई आन्द्रा बटारिएकाले क्रिटिकल अवस्थामा अस्पताल ल्याइएको थियो । अवस्था क्रिटिकल भएर नै पहिला अप्रेसन गरेर परीक्षण गर्नुपरेको हो । यसरी पहिला अप्रेसन गर्नुपरेका कारण अस्पतालका डाक्टरसहित ३५ जना कर्मचारी क्वारेन्टिनमा बस्नुपरेको छ,’ निर्देशक आचार्यले भने ।

याेसमेत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गुमाउने संक्रमितको संख्या सात पुगेको स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक आचार्यले जानकारी दिए । योसँगै पोखरामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । गण्डकी प्रदेशमा ज्यान गुमाउनको संख्या कास्कीसहित ११ जना पुगेको छ । ज्यान गुमाउने स्याङ्जाका दुई, म्याग्दी, गोरखा, बाग्लुङ र तनहुँका एक–एकजना छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.