रोल्पा शून्य कोरोना संक्रमित जिल्ला बन्यो

रोल्पा कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । गत मंगलबारबाट रोल्पामा कोही संक्रमित नभेटिएको र संक्रमित भएकाहरू पनि सबै संक्रमणमुक्त भई घर फर्किसकेकाले जिल्ला नै कोरोनामुक्त भएको हो । जिल्लाको रुन्टीगढी गाउँपालिकाका एक कोरोना संक्रमित मंगलबार डिस्चार्ज भएसँगै रोल्पा कोरोनामुक्त भएको छ । जम्मा ८१ जना संक्रमितमध्ये एकजनाले क्वारेन्टिनमा नै आत्महत्या गरेका थिए । संक्रमण पुष्टि भएकोमध्ये पाँचजना संक्रमित जिल्लाबाहिर रहेका छन् । त्यसबाहेक जिल्लाभित्रै जलजला क्याम्पसमा स्थापना गरिएको कोभिड–१९ आइसोलेसन केन्द्रमा रहेका ७५ जना संक्रमितमध्ये सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको थियो । अहिलेसम्म नयाँ संक्रमित नभेटिएको र पुराना सबै आइसोलेसनबाट डिस्चार्ज भइसकेकाले रोल्पा कोरोनामुक्त भएको रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले बताए ।

‘सबैको सक्रियताका कारण हामी कोरोनालाई तत्कालका लागि शून्य संक्रमितमा पुऱ्याएका छौँ,’ आचार्यले भने, ‘कोरोना संकट व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, स्थानीय तह सबैको सक्रिय सहकार्यले यो अवस्था आएको छ, खुसी छौँ ।’

८२ दिनपछि संक्रमण शून्य
पहिलोपटक गत जेठ २९ गते तीनजनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण सुरु भएको ८२औँ दिनमा कोरोना शून्य भएको हो । कोरोना संकट व्यवस्थापन समितिको राम्रो व्यवस्थापन र स्वास्थ्यकर्मीहरुको सक्रियताकै कारण रोल्पालाई कोरोना संक्रमणमुक्त बनाउन सफल भएको कोरोना संकट व्यवस्थापन समितिका सदस्यसमेत रहेका आचार्यले बताए । अहिलेसम्म कोरोना संक्रमणलाई आफूहरूले नियन्त्रण गर्न सके पनि अझै महामारीका रूपमा फैलिएपछि भने अवस्था भयावह हुन सक्नेतर्फ सबै सचेत हुनुपर्ने रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले बताइन् ।

‘हामी सचेत भएनौँ भने भोलि महामारीकै रूप पनि लिन सक्छ,’ घर्तीले भनिन्, ‘भोलि आउने जटिल समस्यालाई टार्न आजै सतर्कता अपनाउनुपर्छ ।’
रोल्पामा अहिले पनि समुदायस्तरमा कोरोना देखिएको छैन ।

सम्बन्धित खवर
1 Comment
  1. ईकुटुम्ब says

    good

प्रतिकृया

Your email address will not be published.