स्वरुप परिवर्तन गरेर काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधी एकसाता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छुट गरिएका सेवाबारे सूचना जारी गरेर जानकारी गराइने बताए ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । दुईसाता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको उपत्यकाका तीन प्रजिअको निष्कर्ष छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.