मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा
काठमाडौं, पुस २८ मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ ।अहिले झन्डै ४०० मिटरमा मात्रै अन्तिम काम ९फाइनल फिनिसिङ० बाँकी रहेको छ ।चार महिनापहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम सुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ ।
इटालियाली निर्माण कम्पनी सीएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ सुरुङमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो ।बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।नियमितरूपमा काम गरिरहँदा आगामी दुई महिनामा सुरुङको काम सम्पन्न हुने उनको भनाइ छ ।
अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भएपनि सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुंगो लाग्न बाँकी छ ।सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्यले कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सम्झौतामा उल्लेख छ । वर्षाअघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने बताइएको छ ।मेलम्ची काठमाडौंमा झरेपछि पानी वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । रासस