एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु
उदयपुरमा शनिबार एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।मदन भण्डारी राजमार्गको गाईघाट–चुहाडे खण्ड अन्तर्गत त्रियुगा नगरपालिका९, झिल्के चोकमा स१ झ ४७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट स्थानीय ६२ वर्षीय तिलक दनुवारको ज्यान गएको हो ।
एम्बुलेन्सले रोकिराखेको स ४ प १६६२ र बा १६ प ७९२३ नम्बरको नम्बरको मोटर साइकलसहित तीन जनालाई ठक्कर दिइएको थियो । ठक्करबाट दुवै मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दनुवारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो भने अन्य घाइते त्यसै ठाउँका ३२ वर्षीय राजकुमार दनुवार र १४ वर्षीय रोशन दनुवारलाई विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।एम्बुलेस चालक त्रियुगा नगरपालिका ३ का ३० वर्षिय सन्तोष खत्रीलाई प्रहरीले नियन्त्रणमा लिई छानविन गरिरहेको प्रहरीले जनाएको छ ।