पाल्पामा ७२ जना क्वारेन्टाइनमा, कोरोना नियन्त्रणमा खट्ने कर्मचारीलाई प्रोत्साहन भत्ता
पाल्पा, चैत्र १५-पाल्पाका विभिन्न स्थानमा हालसम्म ७२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस नियन्त्रण गर्न विदेशबाट फर्किएका मानिसलाई क्वारेन्टाइनमा राखिएको हो । तानसेनमा २६, बगनासकालीमा ११, रिब्दीकोटमा २, रामपुरमा ९ र पूर्वखोलामा १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै रम्भा गाउँपालिकाको ताहुस्थित रम्भा माविमा रहेको क्वारेन्टाइनमा ५ जनालाई राखिएको छ ।
विदेशबाट फर्किएका थप २ सय ९५ जना मानिसलाई भने होम क्वारेन्टाइनमै सुरक्षित साथ बस्न पठाइएको छ । तिनाउ, रैनादेवी छहरा, माथागढी, निस्दी गाउँपालिकामा भने अहिलेसम्म कसैलाई पनि क्वारेन्टाइनमा राखिएको छैन । चैत १ गतेदेखि हालसम्म विदेशबाट फर्किने झण्डै एक हजार बढी रहेकोर तीमध्ये अधिकांश भारतबाट फर्किने रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । उनिहरुलाइ निगरानीमा राखिएको न्यौपानेले बताए ।
कोरोना नियन्त्रणमा खट्ने कर्मचारीलाई प्रोत्साहन भत्ता
निस्दी गाउँपालिकाले कोरोना रोग नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । उसले ५० पतिशत भत्ता उपलब्ध गराउने भएको हो । साथै कोरोना रोग नियन्त्रणको शिलशिलामा ज्यान गए १० लाख क्षतिपूर्ति दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । ‘अहिले म लगाएत जनप्रतिनिधि , कर्मचारी र प्रहरीहरु मिलेर सबै वडामा काममा खटिएका छौँ’, सारुले भने, ‘कोरोनाबाट बाँच्ने तरिका तथा नियन्त्रणको विषयमा दिनहु अनुगमन र प्रचारप्रसारमा जुटेको कारण गाउँपालिकाले प्रोत्साहन भत्ता र क्षतिपुर्तीको ब्याबस्था गरेका हौँ ।’ स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले स्थानिय सरकारले गरेको निर्णयले काम गर्न थप जाँगर आएको बताए ।’