एकान्तवासमा बस्दा शाकाहारी भोजन उत्तम हुने
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ बाट हुन सक्ने संक्रमण रोकथामका लागि सरकारले गरेको आग्रहलाई अटेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको आज ९० दिन पुग्दा हाम्रो देशमा पाँच जनामा कारोनाको संक्रमण देखिएको पुष्टि भइसकेको छ । झलै यहाँ महामारीको रुपधारण गरिसकेको छैन ।चैत १६ आइपुग्दासम्म उपत्यकामा तीन र उपत्यका बाहिर धनगढीमा दुई गरी जम्मा पाँच व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको भए पनि एक व्यक्ति निको भइ घर फर्किसकेका छन्। बाँकी चार व्यक्तिमध्ये एकको सेती प्रादेशिक अस्पताल धनगढीमा, बाँकी दुईको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक युवतीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
सरकारले चैत ११ देखि १८ सम्म आम नेपालीलाई घरमा एकान्तवासमा बस्न आग्रह गरेको हो । सोहीअनुसार झण्डै तीन करोड नेपाली अहिले एकान्तवासमा छन् । प्रहरी अधिकृत विश्वनाथ जिसीका अनुसार एकान्तवासबाट जबर्जस्त बाहिर निस्कन खोज्नु, जाँडरक्सीको सेवन गर्दै मात्तिएर सडकमा हिँड्नु, शान्ति सुरक्षामा खटिएका प्रहरीलाई अटेर गर्नु, एकान्तवासबाट बाहिर गई एकापसमा जम्मा हुनु र जुवातास तथा क्यारिम बोर्ड खेल्नु पनि सरकारलाई अटेर गरेको ठर्हछ ।धार्मिक ग्रन्थ निर्णयसिन्धुले एकान्तवासमा बस्दा हल्का खानेकुरा जस्तै– फलफूल, सागसब्जी, गेडागुडी, टुसा उम्रेका अन्न, जौँको सातु, अन्नबालीबाट तयार गरिने झोलिलो पदार्थ सुप खान सुझाएको छ । एकान्तवासमा बस्दा शारीरिक परिश्रम नपर्ने भएकाले अनावश्यक पोषिलो खाद्यान्न खादा शरीरलाई अनावश्यक बोझ हुने र पचाउन गाह्रो पर्ने भएकाले कब्जियत रोगको शिकारबाट जोगिन हल्का र पचाउन सजिलो हुने प्रकृतिका खाद्यान्न खाना चिकित्सकले सुझाव दिएका छन् ।
शीर मेमोरियल अस्पतालका चिकित्सक डा अमिश कार्कीले कोरोना भाइरस सङ्क्रमण हुँदैमा मानिसको मृत्यु नहुने तर कोरोनाका भाइरसलाई विस्थापित गर्न शरीरमा प्रतिरोधात्मक शक्ति वृद्धि हुने प्रकृतिका खाद्यान्न खानुपर्ने सुझाव दिएका छन् । पोषणविद् सुशीलादेवी शर्मा एकान्तवासमा रहँदा शाकाहारी खाना खानु स्वास्थ्यका लागि राम्रो हुने बताउँछिन् । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता ज्याँदा हुने, शाकाहारी खाना छिटो पच्ने, कोल्स्ट्रोल, मधुमेह तथा कब्जियत हुन नदिने जसका कारण मुटु, उच्च रक्तचाप तथा मिर्गोलालाई फाइदा पुग्दछ भन्छिन्।श्वासप्रश्वासबाट कोरोना भाइरस छिटो सर्छ । यस्ले बूढापाक, मधुमेह, मुटुरोगी तथा मिर्गोलाका रोगीलाई तत्काल असर गर्ने भएकाले समेत शाकाहारी भोजन फाइदाजनक हुने बताइन्छ । साथै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति बढाउन कागती, सुन्तला, अमला, गोलभेडा, काउली ब्रोकाउली तथा झोलिलो पदार्थ प्रशस्त खान चिकित्सकहरुले थप सुझाव दिएका छन् ।