भेरी अस्पतालमा कोरोना प्रयोगशाला छिट्टै संचालनमा आउने
भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस कोभिड १९ प्रयोगशालाका उपकरण उपलब्ध गराउन चारवटा कम्पनीले प्रस्ताव दर्ता गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार शनिबार खोलेको टेण्डरमा चारवटा कम्पनीले प्रस्ताव दर्ता गरेको पाइएको हो । अस्पतालले कोरोना जाँचका लागि रियल टाइम पीसीआर मेसिन तथा सेवा सन्चालनका लागि आवश्यक सामग्री बायो सेफ्टी च्याम्बर, माइक्रोपीपिटिज, इन्कुबेटर, सेन्ट्रफुज तथा रिएजेन्ट खरिदका लागि तीन दिनको म्याद राखेर विज्ञापन खोलेको थियो ।
विज्ञापनमा ब्राण्ड, मोडल, तथा स्फेसिकेसन र सामान आपूर्ति र जडान गर्न लाग्ने समय खुलाएर लागतसहितको प्रस्ताव आव्हान गरेको थियो । डा थापाले प्रस्तावबारे भने,कतिपय कम्पनीले दुई महिनाको समय मागेका छन्। हामी जतिसक्दो चाँडो उपकरण जडान गर्न सक्ने र राम्रो कम्पनीको सामान ल्याउने कम्पनीलाई जिम्मा दिने तयारी छौं, डा। थापाले प्रस्तावबारे भने, हामीलाई अहिले नै प्रयोगशाला चाहिएको हो ।
सकेसम्म एक हप्ताभित्रै प्रयोगशाला संचालनको तयारीमा छौं।प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शनिबार भेरी अस्पतालमा निर्माणाधीन कोरोना भाइरस कोभिड १९ प्रयोगशालास्थलको अवलोकन गरेका छन् । उनले जतिसक्दो चाँडो प्रयोगशाला स्थापना गरेर सेवा दिन निर्देशन पनि दिएको मेसु थापाले प्रष्ट पारे । अस्पतालमा प्रयोगशाला निर्माणका विषयमा भइरहेको प्रगतिबारे मेसु थापाले मन्त्री बराललाई जानकारी गराएका थिए ।
प्रयोगशाला स्थापना गर्ने कोठामा एसी जडान गर्ने लगायतका कामहरु अस्पतालले गरिसकेको छ । अस्पतालमा तत्काल कोरोना जाँचका लागि छुट्टै जनशक्तिको आवश्यकता पर्नेछैन । अस्पतालमै भएका प्राविधिकबाट नै काम चलाउने तयारी छ । प्रदेश ५ सरकारको मन्त्रीपरिषद् निर्णयबाट भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्न लागिएको हो । कोरोना नियन्त्रण उच्च स्तरीय समिति र स्वास्थ्य मन्त्रालयले राजधानी बाहिर धरान, पोखरा र नेपालगन्जमा तीन स्थानमा कोरोना जाँच प्रयोगशाला स्थापना गर्ने निर्णय गरे पनि अन्तिम घडिमा यहाँ स्थापना गर्ने भनिएको प्रयोगशाला बुटवलमा बन्ने भएपछि प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्न लागेको हो ।