डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाटै दुईजना भागे
डडेल्धुरा , डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोरानाको आशंकामा भर्ना गरिएका दुईजना भागेका छन्। उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेका हुन्। कोभिड १९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो ।
तीन दिनअघि उहाँहरूलाई हामीले आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ। अस्ति मात्रै उहाँहरूको नमूना संकलन गरेर काठमाडौं पठाइएका थियो। उनले भने, दिउँसोसम्म यतै अस्पतालमा रहेका बेलुका वार्ड हेर्दा अस्पतालमा भेटिएनन्।निमित्त मेसु विष्टका अनुसार दुबैजनाको स्वास्थ्य अवस्था सामान्य नै थियो। अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्।उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ।
गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमाछोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ। उनीहरूको खोजी कार्य तीव्र पारेको अध्यक्ष भट्टले भनिन्, घरमा पनि नआएकोले खोज्दैछौँ।उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।