तातोपानी नाकाबाट कोरोना नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले सहजीकरण गर्ने
काठमाण्डौ – तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले सहजीकरण गर्ने भएका छन् ।
यसअघि चीनसँग सीमा जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भएकाले स्थानीयवासीले आफूहरु डराएको भन्दै तातोपानीमा रहेको सुक्खा बन्दरगाहमा भेला भएर सरकारी निर्णयको विरोध गरेका थिए ।
तर अहिले उनीहरु समझदारीमा आएका हुन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीचको छलफलमा सङ्क्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ । सहमतिपछि अब नाकाबाट औषधि आयातमा स्थानीयवासीले अवरोध नगर्ने बताएका छन् ।