काेराेना मिटर : थप दुई सय ३२ मा संक्रमण पुष्टि, संक्रमितकाे संख्या १५ हजार चार सय ९१ पुग्याे,मृत्यु हुनेको संख्या ३४

पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा दुई सय ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।याेसमेत हालसम्म संक्रमित हुनेकाे संख्या १५ हजार चार सय ९१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले विगत २४ घन्टामा दुई सय ७२ जना निकाे भएर डिस्चार्ज भएकाे बताए । हाल संक्रमित भई आइसोलेनमा बस्ने नौ हजार ४२ जना छन् । क्वारेन्टाइनमा बस्नेको संख्या भने निकै घटेको छ । गौतमका अनुसार क्वारेन्टाइनमा हाल ३३ हजार एक सय २५ जना छन् ।

कोरोनाबाट मृत्यु हुने संख्या ३४ पुग्यो
कोरोना संक्रमण देखिएका थप दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित गोरखाका ४४ वर्षीय पुरुषको २० असारमा मृत्यु भएको हो । उपचारका क्रममा उनलाई अस्पताल भर्ना गरिएको थियो । कतारबाट फर्केका उनी क्वारेन्टाइनमा थिए । कोरोना पुष्टि भएपछि उपचारकै क्रममा उनको मृत्यु भएको गौतमले बताए । त्यसैगरी रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १७ असारमा उनको मृत्यु भएको हो । उनको स्वाब परीक्षणमा १८ असारमा कोरोना पोजेटिभ देखिएको गौतमले जानकारी दिए । योसमेत कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.