मानिसमा कसरी विकास भयो हाँस्ने कला ? के अरु जनावर पनि हाँस्दछन् ?

मनपर्ने घरपालुवा जनावरसँग हामी एक अलग्गै खालको भावनात्मक सम्बन्ध कायम गर्दछौँ । घरमा पालेको कुकुर सँग कुराकानी गर्दछौँ, सुगासँग भलाकुसारी गर्छौँ अनि मनका कुरा खोल्छौँ पनि । आखिर जनावरसँग कुराकानी गर्नु तथा मनका कुरा गर्नुको कुनै अर्थ छैन भन्ने हामीलाई थाहा हुन्छ । तर पनि किन हो कुन्नि आफ्नो प्यारो साथी जनावरहरुले मेरो भावना बुझ्दछ भन्ने विश्वास हामीलाई हुन्छ । तर वास्तविक रुपमा जनावरहरुले के र कति बुझ्न सक्दछन् त ? उदाहरणका लागि हामीलाई यति त थाहै छ कि जनावरहरुले आनन्दको महसुस गर्न सक्दछन् । तर के जनावरले हाँसोठट्टा पनि बुझ्न सक्दछ त ? के जनावरले चुट्किला भनेको पनि बुझ्दछ त अनि रमाइलो कुरा सुनेर वा दृश्य देखेर खित्का छाडेर हाँस्न सक्दछ त ?

हामी किन हाँस्छौँ ?
के कुकुर, बिरालो वा अन्य जनावर पनि मानिस हाँसेजस्तै गरी हाँस्न सक्छन् ? आखिर मानिसमा हाँस्ने कला के कारणले गर्दा विकसित भयो ? यो एक रहस्यको रुपमा रहेको छ । पृथ्वीमा रहेका हरेक मानिस, चाहे जुनसुकै भाषा किन नबोलुन् सबै हाँस्न जानेका छन् र हाँस्ने शैली पनि प्रायः एकै खालको हुन्छ । हामी अवचेत नै पनि हाँस्छौँ । हाम्रो भित्री मनबाटै हाँसोको सिर्जना हुन्छ । र, यसका लागि कुनै विशेष खालको प्रयासको आवश्यकता पर्दैन ।

वास्तवमा हाँसो एउटा संक्रामक चिज हो । जसरी संक्रामक रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ, त्यसैगरी एकजना मानिस हाँस्दाखेरी अर्को मानिस पनि मुस्कुराउन थाल्दछ । यो एक सामाजिक चरित्र हो । मान्छे जन्मेपछि बोल्न सिक्नुअघि नै हाँस्न सिकेको हुन्छ । वास्तवमा हाँसोले दुई वा दुईभन्दा धेरै मानिसहरुको बीच सम्बन्धको आधार तयार हुन्छ ।

हाँसो सम्बन्धी एक सिद्धान्त अनुसार मानिसमा हाँसोको सुरुवात अचानक भैरहेको कुनै घटनाका बारेमा चेतावनी दिनका लागि भएको थियो, जस्तै अकस्मात बाघ आएको । भलै हामीलाई आफू किन हाँस्छौँ भन्ने कुरा थाहा छैन, तर पनि हाँसिरहेकै हुन्छौँ । तर के जनावर पनि हाँस्दछन् त ? यदि हाँस्दैनन् भने कि ? जनावरहरु मध्ये मानव प्रजातिसँग नजिकको सम्बन्ध भएका प्रजातिहरु चिम्पान्जी, गोरिल्ला, बोनोबो तथा ओरांगउटान हुन् । यी जनावरहरु पनि दौडने-समाउने खेलमा खुसे हुँदा वा काउकुती लगाउँदा हास्ने गर्दछन् । उनीहरुले हाँसोजस्तै आवाज निकालेर आफ्नो खुसी व्यक्त गर्दछन् । रोचक त के भने चिम्पान्जी जस्तै मानिससँग नजिकको सम्बन्ध रहेका बाँदर प्रजातिहरुको आवाज चाहीँ मानिसको हाँसो हस्तै हुन्छ ।

ओरांगउटानले काउकुति वा कुनै उत्तेजनाका बखत मानिस हाँसेजस्तै निकै प्रफुल्लित आवाज निकाल्दछ । यसबाट पनि पुष्टि हुन्छ कि हामी बोल्नुभन्दा अघि नै हास्ने क्षमताको विकास भएको हो । सांकेतिक भाषाको प्रयोग गर्ने पोथी गोरिल्ला कोकोले एकपटक आफूलाई चिडियाखानामा स्याहारसुसार गर्ने मान्छेको जुत्ताको फित्ता एक आपसमा बाँधिदिएको थियो र अब मलाई पक्रेर देखाउ त ? भन्ने भावमा जिस्काएको थियो । यसबाट के देखिन्छ भने गोरिल्लासँग ठट्टा मजाक गर्ने क्षमता पनि हुन्छ ।

चराहरु हाँस्छन् ? आवाज नक्कल गर्नसक्ने मैना तथा सुगाजस्ता चराहरुले मानिसको हाँसोको समेत नक्कल गर्ने गरेको पाइन्छ । सुगाहरुले अन्य जनावरलाई चिढाउनका लागि समेत अनेक खालका आवाज निकाल्ने गर्दछन् । घरमा पालिएको सुगाले घरकै कुकुरलाई दिक्क पार्नका लागि सिठी बजाउने जस्ता आवाज निकाल्ने गरेको समेत सुनिन्छ, जुन उसले केवल आफ्नो मनोरञ्जनका लागि गर्दछ । त्यस्तै काग तथा सोही परिवारका अनय चराहरुले भोजन पत्ता लगाउनका लागि विभिन्न खालका तरिकाहरु ऋपनाउने गरेको पाइन्छ । यहाँसम्म कि कागले सिकारी मांशाहारी जनावरको पुच्छरसमेत तानिदिने गर्दछ ।

सिकारी जनावरको ध्यान भड्काएर उक्त सिकार चोर्नका लागि कागले त्यसो गर्ने गर्दछ । तर कहिलेकाहीँ कागले खानेकुरा नभएको अवस्थामा समेत अन्य जनावरको पुच्छर तानिदिने गरेको देखिन्छ । यसो गर्नुको कारणचाहिँ केवल मनोरञ्जनका लागि मात्रै हो । यसबाट के पुष्टि हुन्छ कि कतिपय पंक्षीहरुमा समेत सेन्स अफ ह्यूमर हुन्छ । अर्थात् चराहरु समेत हाँस्दछन् भलै मान्छेले त्यो देख्न सक्दैन । जनावरको मजाक केही अन्य जिवजन्तुहरु हाँसोको लागि चिनिन्छन्, जस्तै मुसा । शरीरको संवेदनशील अंग जस्तै घाँटीमा चलाउँदा वा समाउँदा मुसाले चीँ चीँ आवाज निकाल्दछ । खेल्दाखेल्दै डल्फिनले पनि केही आवाज निकाल्दछ । यसबाट डल्फिनले संकेत दिएको हुन्छ कि उसको आसपासमा रहेका चिजहरुबाट कुनै खतरा छैन ।

मस्तीमा रहँदा हात्तीले समेत आवाज निकाल्दछ । तर ती जनावरका व्यवहार मानिसको हाँसोजस्तै हो कि विशेष परिस्थितिमा अन्य जनावरहरुकै जस्तो आवाज निकालेका हुन् भन्ने कुरा पत्ता लगाउन भने असम्भव नै हुन्छ ।घरपालुवा जनावर घरका पाल्तु जनावरहरु के मानिससँग हाँस्न सक्दछन् ? वैज्ञानिकहरुका अनुसार कुकुरमा एक प्रकारको हाँसोको क्षमता विकसित भएको छ । आफैमा खुसी तथा मस्त रहेको बेला कुकुरले जिब्रो बाहिर निकालेर जोड जोडसँग स्वाँ स्वाँ गर्दछ र विशेष खालको आवाज निकाल्दछ । यो आवाज कुकुरले सामान्य गर्मीको अवस्थामा जिब्रो निकालेर स्वाँ स्वाँ गर्नेभन्दा फरक हुन्छ । त्यस्तै बिरालोले पनि खुसी भएको बेला विभिन्न खाले गतिविधि गर्दछ र ठट्टायुक्त व्यवहार देखाउँदै मानिसको ध्यान तान्ने प्रयास गर्दछ । एजेन्सी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.