‘महानायक’ उपाधिले ‘म को हुँ’ भन्ने विर्साएको छैन : राजेश हमाल

निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौलाले अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’ उपाधिमाथि प्रश्न उठाएपछि गएको दुई हप्तायता नेपाली चलचित्र क्षेत्र यही विषयमा रुमलिएको छ । केही समीक्षकहरुले कुन आधारमा राजेश हमाल ‘महानायक’ को हकदार भनेर प्रश्न उठाएका छन् । थोरै संख्यामा सम्झनलायक चलचित्र गरेको, कुनै चलचित्रमा चरित्रमा नडुबेकोलगायतको आरोप उनीमाथि छ ।‘महानायक’ को उपाधिमाथि टिप्पणी भइरहँदा अभिनेता हमालले एक टेलिभिजन कार्यक्रममा आफ्नो भनाई राख्दै उपाधि वा स्याबासीले उर्जा र हौसला मिल्ने भए पनि आफूले आफूलाई भगवान नठान्ने बताएका छन् । कति दर्शकले आफूलाई ‘महानायक’ मात्र नभएर भगवान समेत भन्ने गरेको सम्झँदै उनले भनेका छन्, ‘तर म भगवान त होइन नी । त्यो भ्रम पैदा हुनु पनि हुँदैन ।’

‘म नेपालका दुरदराजमा पुग्दा तपाईं त भगवान हो भन्नुहुन्छ । यो उहाँहरुको मप्रतिको सम्मान हो । त्यसले मलाई उर्जा दिन्छ । म त्यो हो भन्ने भ्रम पैदा हुँदैन,’ झापाको एक घटना सम्झँदै उनले भने- ‘झापामा एक फिल्मको छायांकनका लागि म १५/२० दिन बसेको थिएँ । त्यसबेला एक पर्व परेको थियो । त्यहाँका महिलाहरु पूजाको थाली लिएर आउनुभयो । त्यहाँ दुईरतीनवटा भगवानको फोटोसँगै मेरो पनि फोटो थियो ।’कसैले महान भने फुरुङ्ग पर्ने र घृष्णा गरे निराश हुनु नपर्ने अभिनेता हमालले बताएका छन् । तारिफ र आलोचना दुवैको सन्तुलन एउटा कलाकारमा हुनुपर्ने उनको कथन छ । उनी आफ्नो पेशालाई इमान्दारपूर्वक लिन पनि सुझाव दिन्छन् । तर, पेशालाई कहिल्यै गम्भीरतापूर्वक लिन नहुने उनको तर्क छ । उनी मानिसले आफ्नो मानवतालाई गम्भीरतापूर्वक लिनु पर्ने बताउँछन् ।

‘महानायक’ पदवीको बारेमा उनले भनेका छन्, ‘मैले ‘महानायक’ उपाधिलाई कहिल्यै गम्भीरतापूर्वक लिएको छैन । त्यो मलाई दिएको स्याबासी हो । तर, त्यसले म को हुँ भन्ने कुरा विर्साएको छैन । ‘महानायक’ त के कति दर्शकले मलाई भगवान पनि भन्नुहुन्छ । तर, म भगवान त होइन नी । मलाई नरुचाउनेले यो कलाकार होइन पनि भन्नुभएको छ । तर, म कलाकार त हो नी ।’

अभिनेता राजेश हमालले आफूले पाउने स्याबासी र आलोचना दुवैलाई गम्भीरतापूर्वक नलिने बताएका छन् । उनले थपेका छन्, ‘स्याबासी कसलाई मन पर्दैन । तपाईंले केही कार्य गर्नुहुन्छ र कसैले स्याबासी दिन्छ भने कसलाई मन पर्दैन । त्यो स्याबासीको मुख्य उद्येश्य तपाईंलाई आफ्नो कार्यमा प्रेरित गर्ने हुन्छ ।’ स्याबासी पाएको भनेर फुरुङ्ग भए प्रतिउत्पादक हुने उनको भनाई छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.