३ दिन देखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन, यात्रुलाइ सास्ती

नारायण न्यौपाने
पाल्पा, ११ असोज
अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरूद्ध भएको छ । शुक्रबार रातिदेखि अवरुद्ध राजमार्ग अहिले सम्म पनी खुल्न सकेको छैन ।
राजमार्ग अवरुद्ध हुँदा पोखरा, पर्वत, बाग्लुङ, गुल्मी र स्याङजाबाट बुटवल जाने तथा बुटवल बाट आउने सयौँ सवारी साधन बीच बाटोमा रोकिएका छन् । पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडक खण्ड अन्तर्गत १० ठाँउमा पहिरो खसेको छ । शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोषकुमार भट्टराईले बताए ।
‘पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने अवस्था छ’, एसपी भट्टराईले भने ‘ब्रेकर बुटवलतर्फ भएकाले तत्काल ढुंगा फोर्न सक्ने अवस्था छैन, ठूलाठूला चट्टानसहित सडकमाथिबाट पहिरो खसेको छ ।’

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ। डुम्रेतर्फको राजमार्गमा ठूला ढुंगासहित पहिरो झरेको छ । आइतबार बिहानदेखि पहिरो पन्छाउने काम भैरहेको एसपी भट्टराईले बताए । तर, आज पनि बाटो खुल्ने निश्चित नभएको उनको भनाइ छ ।

पहिरोको कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएकाले नजिकको प्रहरी वा सम्बन्धित कार्यालयमा बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख सही पृथ्वीनारायण काफ्लेले अनुरोध गरेका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.