‘ऐश्वर्य र ‘छक्का पञ्जा ३’ बाट चम्किएकी दीपिका

चलचित्र ‘ऐश्वर्य’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी दीपिका प्रसाईं आइतवार आफ्नो जन्मदिन मनाउँदैछिन् । उमेर गोप्य राख्ने गरेकी उनलाई चलचित्रकर्मीदेखि शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । उनका श्रीमान दीवाकर भट्टराईले आफूले जीवनमा पाएको सबैभन्दा महत्वपूर्ण मान्छे भन्दै जन्मदिनको शुभकामना दिएका छन् । अभिनेत्री दीपिकाले डेब्यू चलचित्र ‘ऐश्वर्य’ मा आफूभन्दा झण्डै आधा उमेर जेठा अभिनेता रमेश उप्रेतीसँग रोमान्स गरेकी थिइन् । चलचित्रमा समावेश ‘तिमी रोएको पल’ गीत सार्वजनिक भएपछि चलचित्र क्षेत्रमा उनको सुन्दरताको चर्चा हुन थालेको थियो । चलचित्र प्रदर्शन भएपछि उनको अभिनयको पनि वाहवाही भयो । चलचित्रले पनि हलमा सुखद व्यापार गरेको थियो ।

‘ऐश्वर्य’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी दीपिकाले दोस्रो चलचित्रको रुपमा नेपाली फिल्म क्षेत्रमा शक्तिशाली समुहको रुपमा चिनिएको दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ३’ मा काम गरेकी थिइन् । चलचित्र रिलिजपूर्व उनी हास्यकलाकारको छायाँमा पर्ने धेरैको अनुमान थियो । तर, उनको दमदार अभिनयले हास्यकलाकारको भीडमा हराउन दिएन ।

दुई चलचित्रको सफलताले सफलताको उचाइमा पुगेकी दीपिका बैबाहिक जीवनमा बाँधिएपछि भने सुस्ताएकी छन् । ‘छक्का पञ्जा ३’ प्रदर्शन भए लगत्तै उनले ‘ऐश्वर्य’ निर्देशक दीवाकर भट्टराईसँग लगनगाँठो कसेकी थिइन् । यसपछि उनी अभिनीत चलचित्र प्रदर्शनमा आएका छैनन् । विवाहपछि उनले चलचित्र ‘हेल्लो जिन्दगी’ मा काम गरिन् । तर, यो चलचित्र रिलिजको अझै टुंगो छैन ।

लकडाउनको समयमा अभिनेत्री प्रसाईंले निर्देशक दीपक ओलीको ‘कृष्ण लीला’ साइन गरेकी थिइन् । तर, स्वास्थ्य समस्याका कारण उनले यो चलचित्रबाट हात झिकेकी छन् । प्राप्त जानकारी अनुसार, स्थिति सामान्य भएपछि उनले श्रीमानले निर्देशन गर्ने लभस्टोरी चलचित्र ‘तिमीसँगै हुन मन छ’ मा अभिनय गर्नेछिन् । यसमा उनको जोडी अभिनेता पल शाह बाँधिने चर्चा छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.