अशक्त रामलाई पीडामाथि पीडा : आमालाई क्यान्सर, बुवाको जागिर छैन

माघ १६,
काठमाण्डाै – जन्मेको तीन महिनापछि खुट्टामा समस्या देखिन थाल्यो । नसाहरू खुम्चिन थाले । फोका उठ्न थाल्यो । बिस्तारै, बिस्तारै खुट्टा सुन्निन थाल्यो । खुम्च्याउन र तन्काउनै नमिल्ने भयो । बैतडीको सुर्नया गाउँपालिकाका १९ वर्षीय रामबहादुर कुँवर अहिले पनि राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्न ।
दाहिने खुट्टामा कुनै समस्या छैन । देब्रे खुट्टा भने अस्वाभाविक देखिन्छ । बेलाबेला सहनै नसक्ने गरी दुख्छ । धेरै हिँड्यो भने दुखाइ सहनै गाह्रो हुन्छ उहाँलाई । बर्खाको समयमा धेरै बल्झिन्छ । उहाँको यस्तो अवस्था देखेर आमाको आँखा कहिल्यै ओभानो भएन । उपचारका लागि धेरै प्रयास गर्नुभयो ।

समस्या देखिएको केही समयपछि नै आमाले उहाँलाई जिल्ला अस्पताल डडेल्धुरामा उपचारका लागि लैजानुभएको थियो । तर अलिकति पनि ठिक भएन । त्यसपछि फेरि सेती अञ्चल अस्पताल धनगढीमा गएर डाक्टरसँग परामर्श गर्नुभयो । रोग पत्तै लाग्न सकेन । समस्या बढ्दै गयो । उपचार खर्च पनि बढ्दै गयो । तर समस्या चारमा तीन भएन ।

‘आफ्ना सन्तान अरुका छोराछोरी जस्तै स्वस्थ भएको हेर्ने रहर कुन आमालाई हुँदैन होला र ? आमाले मलाई स्वस्थ बनाउन जाने र सकेसम्म सबै गर्नुभयो, भएका जायजेथा बेचेरै भए पनि भारतसम्म पुर्याउनुभयो । तर आमाका सबै प्रयास खेर गए’ रामले भन्नुभयो ।

उपचारका लागि दौडधुप गरेको लामो समय हुँदा पनि रोग पत्ता लागेन । रोग निको हुनुको साटो बल्झिँदै गयो ।

पाँच महिनासम्म अस्पताल भर्ना

उपचारका लागि दौडधुप गरेको १९ वर्ष बितिसक्दा समस्या झनै बढ्दै गयो । हड्डी खिइँदै गयो । खुट्टा टेक्नै गाह्रो भयो । २०७५ सालमा उहाँ काठमाण्डौको वीर अस्पतालमा उपचारका लागि भर्ना हुनुभयो । खुट्टाको शल्यक्रिया गरियो । शल्यक्रियाको ५ महिनासम्म उहाँ अस्पतालमै बस्नुभयो ।

अहिले बिस्तारै हिँड्न सक्नुहुन्छ । तर दुखिरहन्छ । सधैँभरी औषधि खाइरहन पर्ने डाक्टरले बताएका छन् । अहिलेसम्म उपचारकै लागि १५ लाख जति खर्च भइसकेको छ । अझै कति लाग्छ भन्ने यकिन छैन । घरको आर्थिक अवस्था कमजोर छ ।
अझै पढ्ने इच्छा मरेको छैन उपचारका लागि यताउती चाहार्दा, चाहार्दै पढाइ पनि बिग्रियो । उहाँले गाउँकै श्री शंकर संस्कृत माध्यमिक विद्यालयमा १० कक्षासम्म पढ्नुभयो । खुट्टामा समस्या भइरह्यो । पढाइमा ध्यान नै गएन । ‘म त डिप्रेशनमा पर्नै लागिसकेको थिएँ’ उहाँले दुःख पोख्नुभयो । कसैले सहयोग गरिदिएमा अझै पनि पढ्ने उहाँको धोको छ । काम खोजिरहनुभएको छ तर पाउनुभएको छैन ।

आफूले सक्ने काम गर्दैै पढाइ पूरा गर्ने उहाँलाई ठूलो रहर छ । साथीभाइले अशक्त, गरिब र असहायहरुका लागि सहयोग गर्ने विभिन्न संस्था छ भनेको उहाँले पनि सुन्नुभएको छ । तर आजसम्म भेट्न सक्नुभएको छैन । अवसर पाएमा राम्रो गरेर देखाउने उहाँको अठोट छ ।

उहाँ धेरैजसो कीर्तिपुरमा साथीहरुसँग बस्नुहुन्छ । कहिलेकाहीँ दिदी (आमाको दीदीकी छोरी) सँग पनि बस्नुहुन्छ । अहिलेसम्म साथीभाइले नै कोठाभाडा तिर्ने गरेका छन् । उहाँले अहिलेसम्म तिर्नुपरेको छैन ।

कीर्तिपुरमा बस्ने क्रममा उहाँको बीआईए फाउन्डेशनसँग सम्पर्क भयो । यो बौद्ध धर्मसँग सम्बन्धित संस्था हो । यो संस्थाले अपाङ्गता भएकाहरुका लागि सहयोग गर्ने र सिप सिकाउने गर्छ । कीर्तिपुरकै नगाउँमा रहेको यो संस्थामा रहेर उहाँले मूर्ति बनाउने सिप सिक्नुभएको छ । तर लगानी गर्न पैसा छैन ।

आमालाई क्यान्सर : बुबाको जागिर गुम्यो

राम आफैं बिरामी हुनुहुन्छ । त्यसमाथि आमालाई पनि क्यान्सर भएको छ । ५०/६० हजार रुपैयाँ जति आमाको उपचारको लागि पनि खर्च भइसकेको छ । अझै कति लाग्छ भन्ने थाहा छैन ।

आफूले जागिर खाएर आमाको हेरचाह गर्ने उमेरमा बिरामी आमाले नै आफ्नो चिन्ता गरेको देख्दा उहाँलाई दुःख लाग्छ । कोरोनाको समयमा बुबा नेपाल फर्किएपछि फेरि काममा फर्कन पाउनुभएको छैन ।

बुबा भारतको एउटा होटलमा काम गर्नुहुन्थ्यो । कोरोना संक्रमण कम भए पनि होटलले बोलाएको छैन । आमाछोराकै स्वास्थ्यमा समस्या भएकाले रेखदेख गर्दैमा बुबाको समय बित्छ । अरु काम गर्न पाउनुभएको छैन । दुई जना भाइहरु पढ्दै छन् । माइलो भाइ १० र कान्छो भाइ ४ कक्षामा पढ्दैछन् ।

उनीहरुको खर्च जुटाउन पनि उत्तिकै गाह्रो छ । आफ्नो उपचार र भाइहरूको पढाइकै लागि घरखेत सबै बेचिसकिएको उहाँ बताउनुहुन्छ । बुवाआमा र भाइहरु अहिले महेन्द्रनगरमा भाडामा बस्छन् ।

आफू र आमाको उपचारका लागि सहयोग गर्ने कोही भेटिन्छ कि भनेर उहाँ दिनहुँ भौँतारिनुहुन्छ । सिद्धार्थ बैँकमा रहेको खाता नम्बर ००६१६०९८१९० मा रकम जम्मा गरिदिन वा भेट्न चाहेमा ९८४४३४५३८९ मा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

आमाको उपचार गरेर निको बनाउने, आफ्नो पढाइ पूरा गर्ने र दुःखी गरिब, असहायहरूलाई सहयोग

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.