बन्दका कारण देशैभरको जनजीवन प्रभावित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज देशैभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साबिकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् ।

प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि बिस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौंको सामाखुसीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताए । गृह मन्त्रालयले पूर्ववत् रूपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेसा–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाइसकेको छ ।

मन्त्रालयले नेपालको संविधान र प्रचलित कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा संलग्न हुनेउपर कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । सरकारले संसदीय सुनुवाइविनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै उक्त पार्टीले त्यसको विरोधमा बन्द आह्वान गरेको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.