सगरमाथाको चुचुरोमा नपुगी दुई भारतीयले प्रमाणपत्र लिएको पुष्टि

२०७७ माघ २८ गते
। सन् २०१६ मा दुई भारतीय नागरिकले सगरमाथा चुचुरोमा नपुगी आरोहणको प्रमाणपत्र लिएको पुष्टि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीका अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण नै नगरी पर्वतारोहण प्रमाण पत्र लिएको पुष्टि भएको हो ।

उनीहरुले सो वर्ष सगरमाथा चढेको भनी झुठा विवरण पेश गरी प्रमाण पत्र लिएका थिए । उनीहरुको प्रमाणपत्र रद्द गरिएको छ । यससम्बन्धमा उजुरी परेपछि मन्त्रालयले छानविन गर्न समिति गठन गरेको थियो ।
अनुसन्धानबाट उनीहरुले झुठा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । उनीहरुले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम पुरा नगरी प्रमाणपत्र लिएको मन्त्रालयको ठहर छ ।

६ वर्ष प्रतिवन्ध
यी दुई भारतीय नागरिकलाई नेपाल सरकारले पर्वतारोहणमा ६ वर्षको प्रतिवन्ध लगाउने निर्णय समेत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २६ माघको बैठकले सिंह र रानीलाई २० मे २०१६ देखि लागू हुने गरी पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

उता, उनीहरुलाई आरोहणमा लैजाने आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई समेत २० मे २०१६ देखि लागु हुने गरी नेपालमा पर्वतारोहणमा रोक लगाइएको छ ।
सेभेन समिटलाई ५० हजार जरिवाना

सरकारले भारतीय नागरिकको आरोहणको परिपाटी मिलाएको सेभेन समिट ट्रेक प्रालिलाई समेत नगद जरिवाना गरेको छ । यो टोलीको सम्पर्क अधिकृतका रुपमा पवन कुमार घिमिरे खटिएका थिए ।

उनलाई मन्त्रालयले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ नियम बमोजिम कर्तब्य पुरा नगरेको ठहर गरेको छ । यस कसुरमा उनलाई निजामति सेवा ऐन अनुसार चेतावनी दिने निर्णय समेत मन्त्रालयले गरेको छ ।

उता, सगरमाथा आरोहण नै नगरेका नरेन्द्र सिंहले २० मे २०१६ मा सगरमाथा चढेको भनी पुस ९ मा झुठो कागज गरिदिने आरोहण दलका सहयोगी ङा दावा शेर्पालाई समेत मन्त्रालयले १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

सगरमाथामा बढ्दो विकृति

सगरमाथामा आरोहण दलका सहयोगीको मिलेमतोमा यसअघि पनि यस प्रकारका हर्कत हुने गरेका थिए । २०७३ सालको बसन्त ऋतुमा सगरमाथा चढेका भारतीय जोडी दिनेश रातारकेश्वरी राठौरले समेत झुठा विवरण पेश गरि प्रमाण पत्र लिएको पुष्टी भएको थियो ।उनीहरुको आरोहण मान्यतालाई समेत पर्यटन विभागले रद्द गरेको थियो । सम्पर्क अधिकृतले समेत आँखा चिम्लदा यस प्रकारका हर्कत गर्न आरोहीलाई सहयोग पुग्ने गरेको छ ।

सोही विकृति रोक्न सरकारले आरोहीको ट्रयाकिङ गर्न जीपीएस प्रणाली जडान गर्ने घोषणा लामो समयदेखि गरे पनि सफल हुन भने सकेको छैन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.