डब्ल्यूएचओकाे टाेलीलाई चीनले ‘काेराेनासम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क’ नदिएकाे आरोप

फागुन २, २०७७ आइतबार
काेभिड–१० (कोरोना भाइरस) को उत्पत्तिबारे चीनमा अध्ययन गरिरहेको विश्व स्वास्थ्य सङ्गठनको टोली (डब्ल्यूएचओ) लाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको छ । कोरोनाको उद्गमस्थल मानिएको वुहानमा स्थलगत अध्ययन गरिरहेको डब्ल्यूएचओ टोलीलाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

अनुसन्धान टोलीमा रहेका एक सदस्यका अनुसार अनुसन्धान टोलीले चीनसँग सन् २०१९ को डिसेम्बरमा वुहानमा पुष्टि भएका एक सय ७४ जना सङ्क्रमितको प्रारम्भिक पूर्ण तथ्याङ्क माग गरेको थियो । तर चीनले पूर्ण प्रारम्भिक तथ्याङ्कको साटाे संक्षिप्त विवरण मात्रै दिएको छ । चीनले आफू डब्ल्यूएचओसँग पारदर्शी रहेको दाबी गर्दै आएको भए पनि पछिल्लो आरोपबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

तथ्याङ्क नदिएको कुरा सार्वजनिक भएपछि अमेरिकाले महामारीको प्रारम्भिक चरणको तथ्याङ्क उपलब्ध नगराउनु गम्भीर चासोको विषय भन्दै तथ्याङ्क उपलब्ध गराउन चीनलाई सुझाव दिएको छ ।

अघिल्लो हप्ता डब्ल्यूएचओको टोलीले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा फैलिएको सम्भावना नरहेको निष्कर्ष सार्वजनिक गरेको थियो । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको सङ्क्रमण पछिल्लो एक वर्षदेखि विश्वभर महामारीका रूपमा फैलिएको छ ।

अहिलेसम्म विश्वभर १० कराेड ९१ लाखभन्दा धेरै जनामा काेराेना पुष्टि भएकाेमा आठ कराेड ११ लाखभन्दा धेरै जना निकाे भएकाे वर्ल्डाेमिटरले जनाएकाे छ । त्यस्तै सङ्क्रमितमध्ये २४ लाखभन्दा धेरैकाे ज्यान गएकाे छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसविरुद्ध खोप तयार भएर अहिले विश्वका धेरै देशमा खोप अभियान चलिरहेको छ । लामो लकडाउन तथा प्रतिबन्धहरू झेल्न बाध्य बनाएको कोरोना महामारीको प्रभाव अहिले सामान्य बन्दै गएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.