गुल्मीमा जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु, सात घाइते

गुल्मीमा बुधबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते रहेको प्रहरीले जनाएको छ।गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मीका लागि छुटेको लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ ६ बजेतिर दुर्घटनामा परेको रेसुङ्गा-१४ का वडा अध्यक्ष शेरबहादुर पहराईले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय गुल्मिका अनुसार दुर्घटनामा २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षीय एकराज पोखरेलको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले पोखरेलको घटनास्थलमै र अन्य दुई महिलाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।

त्यस्तै, जिपका चालक भरत पोखरेल घाइते छन्। चालक र जिपमा सवार अन्य ६ जना यात्रु गरी सात जना घाइते मध्ये पाँच जनाको गुल्मी अस्पताल उपचार भइरहेको र दुई जनालाई थप उपचारको लागि पाल्पा रिफर गरिएको पहराईले जानकारी दिए।
जिपमा सवार दुई जना भने हाम फालेर बाँच्न सफल भएका छन्।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.