मोरङ जिल्ला अदालत परिसरबाट दुईजना थुनुवा फरार

२०७७ फागुन ११ गते, विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार भएका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका दुई जना थुनुवा म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् ।

प्रहरीले मोरङको कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको थियो । लागुऔषध मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित उनीहरु भागेको प्रहरीले बताएको छ ।म्याद थपपछि प्रहरीले खाजा खाने भनेपछि हातको एउटा हतकडी खोलिदिएको थियो । हतकडी खुलेपछि सोमबार दिउँसो ३ः३० बजेतिर उनीहरु फरार भएका हुन् ।

खोजी गर्दा फेला नपरेपछि म्याद थप्न लिएर गएको प्रहरी टोलीले साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएको थियो । आरोपीहरु भारततर्फ भागेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । फरार भएका थुनुवाको खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले शेखलाई आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ गरेको थियो । चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका थिए ।

दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो ।अदालतले म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार भएको जानकारी डीएसपी राईले दिए ।म्याद थप गर्न अदालत लिएर गएका प्रहरीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.