ललिता निवास प्रकरण : गच्छदार अदालतमा अनुपस्थि
२०७७ फागुन ११ गते , काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्नताको आरोप लागेका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार अदालतमा अनुपस्थित भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा प्रतिवादी बनाएका मध्ये गच्छदार सहित ४० जना अदालतमा नआएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । गच्छदारको स्थायी ठेगानामा तामेल गर्न पठाएको म्याद बुझेको जानकारी समेत आफूहरूले नपाएको पाण्डेय बताउँछन् ।
अख्तियारले प्रतिवादी बनाएका पूर्वमन्त्री डम्बर श्रेष्ठलाई विशेष अदालतले ५ लाख धरौटीमा छोडेको छ । त्यस्तै, अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।ललिता निवास प्रकरणका १७५ प्रतिवादी मध्ये तीन जना पूर्वसचिव छन् । उनीहरू मध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको छ । पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्त भने पाँच/पाँच लाख धरौटीमा छुटेका छन् ।
५० करोड भन्दा बढी बिगो मापदाबी गरिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनमबहादुर गुरुङलाई २ करोड धरौटीमा छाडिएको छ ।सरकारी तथा सार्वजनिक जग्गा हिनामिनाको अभियोग लागेको शोभाकान्त ढकाल पनि विशेष अदालतले थुनामा राख्ने आदेश दिएको छ । अख्तियारले ढकालसँग ३९ करोड २८ लाख बिगो मागदाबी गरेको छ ।
नेकपा ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलका छोरा र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई भने ललिता निवासको जग्गा फिर्ता गरेको भन्दै अख्तियारले मुद्दा चलाएको छैन ।