जिल्ला अस्पताल पाल्पाको उपचार विधि, बिरामीको घरमा रिफर लेटर

नारायण न्यौपाने /पाल्पा, फागुन १४
अस्पतालमा मानिसहरु उपचार गर्न जान्छन तर जिल्ला अस्पताल पाल्पामा भने उपचार गर्न होइन रिफर लिन वा कसैका लागि रिफर बनाइ दिन मानिसहरुको भिडभाड हुने गरेको छ । बिरामीको रिफर लिन मेला महोत्सवको टिकट लिन जत्तिकै सजिलो छ । जाने, लाइनमा बस्ने, काँहा जाँच गर्न जाने हो डाक्टरसापलाइ भन्ने, रिफर लिने हिड्ने । अस्पतालले उपचार गर्न नसके मात्रै रिफर गर्नुपर्ने हो तर बिरामिको नाकमुख नदेखी जिल्ला अस्पताल पाल्पाले युनाइटेड मिशन अस्पताल वा लुम्बिनि मेडिकल कलेजमा रिफर गरिदिन्छ । रिफरका लागि कम्तिमा बिरामीको अवस्था चिकित्सकलाइ थाहा हुनुपर्ने हो तर दुर्भाग्य बिरामिका आफन्तनै बिरामीको शारिरिक अवस्था ब्रिफिङ गर्छन अनि रिफर लेटर घरमै पुग्छ ।

बिहिवार ४ सय जना बढिको भिडमा रहेकी तानसेन बर्तुङकी कल्पना भुषालले आफ्नो छोराको उपचारका लागि रिफर लिन जिल्ला अस्पताल आएको बताइन । तर उनको छोरा बिद्यालय गएका थिय । भुषालले भनिन्, ‘लुतो आएको थियो, पढाइनै बिगारेर किन आउनु प¥यो र ? उ स्कुल गयो म रिफर लिन याँहा आएकी हुँ ।’

आफ्नी श्रीमती बिरामी भएर रिफर लिन आएका तानसेन बसन्तपुरका सुमन गैरेले आँफुले बिमा कार्ड छुटाएपनी बिमा नम्बरकै भरमा श्रीमतीको उपचारका लागि रिफर लेटर लिएको बताए । गैरेले भने, ‘डक्टरले काँहा जाने हो ? के भएको छ तपाँइको बिरामिलाइ भनेर सोध्नुभयो, मैले मेडिकल कलेज प्रवास जाने होे, पेट दुखेको छ भने, अनि डाक्टरसापले रिफर लेख्दिनुभयो ।’ एउटा टोकनबाट ३ जना सम्मको रिफर गरिदै आएको गैरैले बताए । ‘मेरो अगाडिको लाइनमा बसेको दाइले ३ जना बिरामीको रिफर बनाएको समेत देखेँ’ गैरेले भने, ‘याँहा आउनेनै रिफरका लागि त रैछ ।’
तानसेन १० तेल्घाका दानप्रसाद ज्ञवाली पनी श्रीमती शान्ताको रिफरका लागि अस्पताल आएका थिय । उनकी श्रीमती पनी घरमानै थिइन । रिफरका लागि बिरामी नभएपनी हुन्छ भन्ने थाहा भएका कारण रिफर लिन आएको ज्ञवालीले बताए । उनले भने, ‘मैले श्रीमतीलाइ उपचार गर्न लैजाने लुम्बिनि मेडिकल कलेजमा हो, त्यही मेडिकलको बाटो हुँदै रिफर लिन आएको छु, यो तक्लीप हामीलाइ किन दिएको होला, मलाइ अचम्म लागेको छ, कि उपचार गर्न सके हुन्थ्यो नत्र दुःख नदिए हुन्थ्यो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिश कुंवरले बिरामी नआइ रिफर गरिनु गलत भएको स्विकार गरेका छन । ‘याँहा आउनेको मानसिकतानै रिफर गर्ने हुन्छ त्यसैले पनी रिफर गरिदिन्छौँ तर बिरामी नआइ गर्नु मिल्दैन थियो’, कुंवरले भने, ‘आइन्दा यसो गरिने छैन ।’ दैनिक ५ सय सेवाग्राही आउने अस्पतालमा बिरामी रिफर गर्न समेत कर्मचारी अभाव भएको डा. कुंवरले बताए । दरबन्दी अनुसारको कर्मचारी नहुनु, भौतिक संरचना, तथा साधनको चरम अभाव हुँदा सेवाग्राहीले अस्पताललाइ बिश्वास गर्न नसकेको कुंवरको भनाइ छ ।

पाल्पा जिल्ला अस्पताल ५० शैयाको हो । ४ सय बढि सर्वसाधरण पुग्ने अस्पतालको बेडमा १ जना बिरामी मात्रै भर्ना छन । यसले अस्पतालको सेवा र कर्मचारीको दक्षतालाइ राम्ररी सङकेत गरेको धेरैको बुझाइ छ । सरकारले स्वास्थ्य बिमा गरेकालाइ पहिलो सेवा सरकारी स्वास्थ्य संस्थामा लिनुपर्ने बाध्यकारी ब्यावस्था गरेको छ । यसकारण पनि सेवाग्राही रिफर लिनकै लागि अस्पताल पुग्नु परेको छ । उनीहरुको अनाहकमा २ सय रुपैँया बिमाङक रकम अस्पतालले असुल्छ । यहि रकम पाउनकै लागि कतिपय सरकारी अस्पताल रिफरकै लागि भएपनी काम गरेका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.