घरबाटै माटो परीक्षण : कृषि उत्पादन बढ्ने आशा

फागुन १४, २०७७ शुक्रबार ,काठमाण्डाै – गएको बुधवार सरकारले माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । सार्वजनिक भएको डिजिटल नक्सा माटोको तत्कालको अवस्थाबारे जानकारी लिने एउटा माध्यम हो । नेपालभरिको जुनसुकै ठाउँको माटोको तत्कालको अवस्थाबारेको जानकारी डिजिटल नक्साबाट लिन सकिन्छ । देशका विभिन्न ठाउँका २३ हजार दुई सय ७३ वटा नमुना लिएर विश्लेषण गरेपछि डिजिटल नक्सा तयार पारिएको हो । सातवटै प्रदेशकाे प्रतिनिधित्व हुने गरी फरक-फरक प्रकार, फरक जमिन र फरक उचाइबाट माटाे लिएर विश्लेषण गरी नक्सा तयार पारिएको हो । डिजिटल नक्सा प्रयाेगमा आएपछि अब ल्याबमा गएर नमुना परीक्षण गर्नुपर्ने झन्झटको अन्त्य भएको छ । डिजिटल नक्साले माटाेकाे वर्तमान स्थिति कस्ताे छ भन्नेबारे तत्काल जानकारी दिन्छ ।

एक सय ६८ वटा वातावरणीय तत्त्वहरूले माटोको प्रक्रियामा परिर्वतन गर्छ, यी सबै कुरालाई मध्यनजर गरेर डिजिटल नक्सा तयार पारिएको हो । अब स्याटलाइट इमेजबाट सबै जानकारी प्राप्त हुने र आफैँ अपडेट हुँदै जान्छ । पानी पर्दा माटोको तत्त्वहरूमा पर्ने र अन्य असरहरू स्याटलाइटले आफैँ ‘क्याल्कुलेट’ गरेर राखिदिने भएकाले पनि यसलाई डिजिटल नक्सा भनिएको हो । डिजिटल नक्सामार्फत आफ्नो जग्गाको माटो कस्तो छ भनेर हेर्नुपरेमा सबैभन्दा पहिला इन्टरनेट चाहिन्छ । त्यसका लागि सर्च इञ्जिनमा गएर soil.narc.gov.np टाइप गर्नुपर्छ । त्यसपछि एउटा पेज खुल्छ । पेजको दाहिनेपट्टि soil map /crop map भन्ने हुन्छ । त्यसमा क्लिक गरेर आफ्नो ठाउँ खोजेर माटोको परीक्षण गर्न सकिन्छ । उदाहरणका लागि पोखराको एक जना किसानले परीक्षण गर्न खोजेको छ भने उसले आफ्नो जिल्ला, उपमहानगरपालिका वा नगरपालिकामा गएर क्लिक गरेर आफ्नो ठाउँ खोजेर परीक्षण गर्न सक्छ । परीक्षणपछि माटोको प्राङ्गारिक पदार्थ, अम्लीयपना, नाइट्रोजन तत्त्व तथा पोटासको मात्रा कस्तो छ ? कुन प्रकारको माटो रहेछ ? भन्नेबारे जानकारी हुन्छ । त्यसपछि आफ्नो जग्गाको माटोमा कुन तत्त्वको अभाव छ ? पत्ता लगाउन मद्दत मिल्छ । त्यसपछि त्यसको पहिचान गर्न सजिलो पनि हुन्छ । हामीले उत्पादन गर्ने माटोमा कुन तत्त्वको कमी भएको हो भन्नेबारे नै जानकारी नभइ हामीले खेती गरिरहेका छौँ । त्यो अज्ञानलाई डिजिटल नक्साको माध्यमबाट परीक्षण गराएपछि हटाउन मद्दत मिल्छ ।

बालीको उत्पादन र उत्पादकत्व बढाउनका लागि माटोमा कुन तत्त्वको कमी भएको हो भन्ने थाहा भएपछि त्यहीअनुसारको उपचार पद्धति खोज्न सजिलो हुन्छ । खेतबारीमा यो कारणले उब्जनी नभएको रहेछ भन्नेबारे नक्सामार्फत थाहा भएपछि माटोको व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । माटोको प्रकार र विवरण थाहा भइसकेपछि आफुले लगाइरहेको बाली सुहाउँदो रहेनछ भने परिवर्तन गरेर अर्को बाली लगाउन सकिन्छ । उदाहरणको लागि कुनै किसानले खेतमा काउली लगाउने गरेको रहेछ । केही समययता काउलीको उत्पादन राम्रो भएको छैन भने परीक्षणबाट काउली उत्पादन गर्नका लागि आवश्यक तत्व नभएकाले उत्पादन नभएको हो भन्ने थाहा हुन्छ । त्यसपछि त्यो जग्गामा कस्तो बाली उत्पादन गर्दा राम्रो हुन्छ भन्ने जानकारी लिएर बाली परिवर्तन गर्न सकिन्छ । काउलीको ठाउँमा अन्य बाली रोप्न सकिन्छ ।

आफूलाई कस्तो माटोमा कुन बाली लगाउने भन्ने थाहा नभए विज्ञलाई सोध्नुपर्छ । राष्ट्रिय माटो अनुसन्धान केन्द्र खुमलटार पालिकामा रहेका कृषि विज्ञलाई सोध्दा पनि हुन्छ । आफ्नो पालिकामा कृषि प्राविधिकहरू छैनन् भने कृषि ज्ञान केन्द्रमा गएर वा आफू नजिकका जान्ने मान्छेलाई बोलाएर पनि सोध्न सकिन्छ । भेटेर, फोनमार्फत वा इमेल गरेर पनि सम्पर्क गर्न सकिन्छ ।
यस्तो प्रविधि बन्नु नेपालजस्तो कृषि प्रधान देशका लागि राम्रो हो । लामो समयको अथक प्रयास र मेहनतले यति गर्न सम्भव भएको हो । याे प्रक्रिया चार वर्षको प्रयासमा सम्भव भयो । युरोप र अफ्रिकाका देशमा यो प्रविधि सुरु भइसकेको छ ।

दक्षिण एसियामै देशभर लागू भएको नेपालमा भने पहिलो पटक हो । भारतमा पनि देशभर लागू भएको छैन । हामीसँग ल्याब एकदमै कम छन्, जाँच्ने प्रयोगशाला थोरै छन् । चार महिनामा विभिन्न बैठक भए, कुनबाट सबैभन्दा राम्रो हुन्छ भनेर खोज्न समय लाग्यो । तराईको मात्र गरौँ कि ? भन्ने अवस्था नआएको पनि होइन तर नमुना सङ्कलन, विश्लेषण गर्दै अहिले आएर यति सम्भव भयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.