सम्झना बोहरा हत्याका अभियुक्त पक्राउ

२०७७ फागुन २० गते १, गुल्मी । गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरेको हो ।

लालबहादुरले कर्तव्य गरेर सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । हत्याको कारणबारे प्रहरीले खुलाएको छैन । सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो ।

लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लालबहादुरले बेपत्ता भएकी सम्झनाको खोल तलास गर्ने कार्यमा पनि सक्रियता देखाएका थिए । पछि उनैले शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए । घटनासँग धेरै क्रियाकलापमा लालबहादुरमाथि गरिएको अनुसन्धानबाट हत्या उनले नै गरेको निष्कर्षमा पुगेको डीएसपी पाण्डेको भनाइ छ ।

अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।
सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.