विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

२०७७, बिहीबार ,फागुन २० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समुहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । वि.स.२०७५ फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो ।यसअघि बिहीबार बिहान सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो ।मंगलबारदेखि पटक–पटक भएको वार्ता पछि दुवै समूहबीच तीन बुँदे सहमति भएको हो ।

सहमति अनुसार संवादबाटै सम्पूर्ण राजनीतिक विषयहरुको समाधान खोज्न विप्लव समूह सहमत भएको छ भने सो समूहले आफ्ना सम्पूर्ण गतिविधिहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने छ ।यस्तै सरकारको तर्फबाट विप्लव समूहमाथिको प्रतिबन्ध हटाइने छ भने सम्पूर्ण बन्दीहरु रिहा गर्ने र मुद्दाहरु फिर्ता लिइने छ ।सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ ।शुक्रबार २ बजे राजधानीमा हुने कार्यक्रम मार्फत विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक हुनु हुने छ भने सहमतिको विस्तृत जानकारी पनि दिइने छ । प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम समेत बनेको जनाइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.